बाँसगढी ।
बर्दियाको उत्तर पूर्वी बाँसगढीमा एक १८ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । घरमा कोही नभएको मौका छोपी सुर्खेतस्थित चिंगाढ–४ खदरा घर भइ हाल बाँसगढी बस्ने अन्दाजी ४० वर्षीय महेन्द्र चन्दले उनलाई जबर्जस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय मोतीपुरमा जाहेरी दर्ता भएको छ ।
पीडित किशोरीले आरोपित महेन्द्रविरुद्ध जाहेरी दर्ता गराएकी हुन् । जेठ २८ गते राति १ बजेको घटना भए पनि ढिलो गरी जाहेरी दर्ता भएको हो ।
‘देवीदेउता पुँजाआजाका लागि आमाबुवा र भाइ पहाड जानु भएको थियो । घरमा म एक्लै थिएँ,’ पीडित किशोरीले भनिन्, ‘राति घरमा एक्लै सुतेको थिएँ । गोठबाट बाख्रा कराएको आवाज आयो । किन बाख्रा करायो भनि म गोठ आएँ ।’ त्यतिबेला महेन्द्र आफू सुत्ने कोठाभित्र छिरेको भन्दै उनले भनिन्, ‘गोठबाट कोठामा जाँदा महेन्द्रलाई भित्र कुनामा देखेँ । रातिमा किन आएको । घर जानुभन्दा पनि नमानी, मुखमा कपडा बुजो लगाइ, हातखुट्टा चल्न नदिइ जबर्जस्ती करणी भयो ।’
प्रतिकारका लागि कुनै विकल्प नदिइ पीडकले घरमा कोही नभएको मौकामा फाइदा उठाएको पीडित किशोरी बताउँछिन् ।
बलात्कार आरोपी महेन्द्रले बेलाबेला फोन गरी तनाव दिने गरेको भन्दै उनले भनिन्, ‘गाउँले कोहीसँग फोन नम्बर मागी मलाई बेलाबेला हैरानी दिन्थ्ये । मैले उनका बारेमा जानकारी लिँदा घरमा श्रीमतीसहित म बराबरका छोराछोरी रहेछन् ।
फोन नगर्न भने पनि केही लागेन । मैले नम्बर ‘ब्ल्याक लिस्ट’मा समेत राखेको थिएँ ।’ आफूहरुबीच प्रेम सम्बन्ध नरहे पनि महेन्द्रले विवाह गर्ने प्रलोभन देखाउने गरेको पीडित किशोरी बताउँछिन् । पछिल्लो समय १५ दिनदेखि उनीहरुबीच फोनमा कुराकानी भएको थिएन । आफू बलात्कृत भएको कुरा उनले आमालाई जानकारी गराएकी थिइन् ।
पीडित किशोरीले ईलाका प्रहरी कार्यालयमा असार १२ जाहेरी दर्ता भएको थियो । तर, आजसम्म प्रहरीले आरोपितलाई भने पक्राउ गर्न सकेको छैन । राजनीतिक प्रभावमा परेर प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेको आरोप लागेको छ ।
मुद्दा दर्ता भएको र यस विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मोतीपुरका प्रहरी निरीक्षक सुधिर खड्काले जनाए । ‘सबै ठाउँ पत्राचार गरेका छौं,’ उनले भने, ‘आरोपित पक्राउका लागि हामी लागिपरेका छौं ।’
प्रतिक्रिया दिनुहोस्