काठमाडौँ ।
सामूहिक बलात्कारका एक अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् । १३ वर्षअघि तुलसीपुरमा भएको क्रूर बलात्कार घटनाका अभियुक्त १३ वर्षपछि पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले दाङको साविक उरहरी गाविस –८ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय नविन बस्नेतलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनलाई सीआईबीले असार १७ गते सार्वजनिक गरेको थियो ।उनीसहित घटनामा संलग्न १० जनालाई जिल्ला अदालत दाङले २०६८ असार २६ गते दोषी ठहर गरेको थियो । तर, पुनरावेदन अदालत तुलसीपुरले २०६९ जेठ २ गते फैसलालाई उल्टएको थियो ।
पछि सर्वोच्च अदालतले २०७९ जेठ १० गते उनलाई ६ वर्ष कैद फैसला सुनाएको थियो । सर्वोच्च अदालतमा २०६९ पुष २४ गते मुद्दा दायर भएको थियो । बस्नेत १३ वर्षदेखि फरार थिए । सामूहिक बलात्कारमा उनीसहित १० जना संलग्न थिए । बाँकी ९ जना भने केही कारागारमा छन् भने केही सजाय काटेर थुनामुक्त भएका छन् ।
यस्तो थियो घटना
२०६७ सालमा असार १५ गते १८ वर्षीय लक्ष्मी शाही (नाम परिर्वतन) पढ्न रुकुम चुनवाङ्गबाट आफ्ना दाजु मदन (नाम परिवर्तन)सँग कोहलपुर हिँडिन् । उनीहरू तुलसीपुरको नयाँ बसपार्कस्थित न्यू राप्ती होटलको कोठा नम्बर २ मा बसे । खाना खाएर राति करिब साढे १० बजे दाजु बहिनी सुत्न लागेका थिए ।
नजिकै कोठामा केही व्यक्तिहरूले मादक पदार्थ सेवन गरेर होहल्ला गरिरहेका थिए । केही समयपछि ती व्यक्तिहरूले उनीहरूको कोठामा लात्ती हानेको लक्ष्मीले दिएको जाहेरीमा उल्लेख छ । निकैबेर ढोकामा हानेपछि दाजु मदनले ढोका खोले । खोल्नेवित्तिकै उनीहरूले दाइलाई कुटपिट गर्न थाले । त्यसपछि लक्ष्मीलाई जबरजस्ती उठाएर त्यहाँबाट लगे । जसमा पाँच जना थिए ।
उनीहरूले लक्ष्मीलाई तुलसीपुर नगरपालिका ५ र ९ को बीचमा पर्ने पातुखोलाको बगरमा लगेर सामूहिक बलात्कार गरे । लक्ष्मीलाई अचेत छोडेर उनीहरू त्यहाँबाट भागेका थिए । होटल साहुमार्फत् प्रहरीले घटनामा संलग्न भनिएका राजेश, सुरेशलगायको खोजी शुरू गर्यो । अनुसन्धान गर्दै जाँदा घटनामा सुनिल वली, नविन बस्नेत, याद टण्डनलगायत पनि संलग्न रहेको पुष्टि गर्यो ।
त्यसपछि दाङका सचिन योगी, कुष्ण सागर वली, मिकेतन गिरी, बुद्धि प्रकाश केसी, नविन बस्नेत, सुनिल वली, यादव टेण्डन खत्री, चन्द्र बुढामगर, शुरेश केसी र राजिव कोइरालाले बलात्कार गरेका तथ्य खुल्यो । त्यो बेलादेखि नविन बस्नेत फरार भएका थिए । उनीहरूले क्रुर तरिकाले बलात्कार गरेका थिए । प्रहरीका अनुसार लक्ष्मीको दाहिने भागभरि चिथोरिको थियो । मलद्वार र यौनाङ्गको वरिपरि धेरै निलडाम र घाउहरू थिए ।
मेडिकल रिपोर्टअनुसार उनी त्यतिबेला महिनावारी भएकी थिइन् । सर्वोच्च अदालतले त्यसलाई पनि आधार मानेर फैसला गरेको छ । फेसलामा भनिएको छ– ‘मासिक रक्तश्राव भएको बेला भएको सामूहिक जबरजस्ती करणी थप पीडादायिक अवस्था हो । मासिक श्राबको बेलामा पीडितको शारीरिक अवस्था तथा प्रतिरोधात्मक क्षमता कमाजोर रहने हुँदा यसलाई सजाय बढाउने तत्व विद्यमान रहने अवस्थाका रूपमा हेरिनु पर्दछ ।’
अदालतले त्यसैका आधारमा प्रतिवादीहरूलाई दुई, ६ वर्ष र १६ वर्षा कैद सुनाएको थियो । बस्नेतलाई ६ वर्ष कैद सुनाइएको थियो ।अदालतले पीडितलाई प्रतिव्यक्ति ५० हजारका दरलेक्षतिपूर्ति र पीडित राहतकोषबाट ५ लाख दिन आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्