१६ वर्षीया नाबालिग बलात्कार घटनामा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक रूदिलबल्लव सिंह पक्राउ परेका छन्।
उनलाई आज बिहान ९:३० बजे कुपन्डोलबाट पक्राउ गरिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए।
एसएसपी शाहकाअनुसार पक्राउ परेका सिंहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। यसअघि एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाल बुधबार बालुवाटारबाट पक्राउ परेका थिए। नाबालिका बलात्कार घटनामा उनीहरूविरूद्ध असार १३ गते पक्राउ पुर्जी जारी भएको थियो।
यस घटनामा प्रहरीले जबरजस्ती करणी भएको भन्दै नाबालिगले प्रहरीलाई खबर गरेपछि आरोपित पुरूषलाई पक्राउ गरिसकेको छ।
बलात्कार अभियोगमा पक्राउ पर्नेमा पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइराला छन्।
नाबालिगको बलात्कार भएपछि प्रहरीले एलओडी क्लबलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै दुई सञ्चालकविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति लिएको हो।
१६ वर्षीया नाबालिग जेठ ३१ गते राति फेसबुकबाट चिनजान भएकी एक साथीसँग क्लबमा पुगेकी थिइन्। यसरी क्लबभित्र पसेकी पीडितको भेट कोइरालासँग भएको थियो।
‘फेसबुकमा भेट भएको साथीसँग एलओडी गएकी रहेछन्। घुम्न जाऔं भनेपछि त्यहाँ पुगेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि साथीचाहिँ कहाँ गइन् थाहा हुन्न। पीडितले साथीसँगै घर जान्छु भनेकी हुन्छ। तर पुरूषले साथी भएकै ठाउँमा लग्छु, मसँगै छ भनेर बागडोल पुर्याएको देखिन्छ।’
घटना भएयता किशोरीकी ती साथी सम्पर्कविहीन छिन्। सुदन फाइबरको एक कम्पनी चलाउँछन्। उनको बागडोलस्थित अफिसमा पुर्याएर नाबालिगमाथि बलात्कार भएको प्रहरीले जनाएको छ।
बलात्कार भएको खबर पाएपछि प्रहरीले सुदनलाई पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्