तिलक गाउँले,नेपालगन्ज
कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट उनीहरुलाई पक्राउ गरेको हो ।
दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकायलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
पाटेबाघको एक थान छाला र ६ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डिभिजन वन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयश्क पोथी बाघको हो । छालाको लम्बाइ नौ फिट आठ इञ्च छ ।
घाँटीमा दुई ठाउँमा गोलीको प्वाँल फेला परेको छ । बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारैजना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा पाँच लाखदेखि १० लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुनसक्ने वन अधिकृत कर्णले बताए । चारैजनाबारे थप अनुसन्धान डिभिजन वन कार्यालय नेपालगन्जमा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्