शुभाकर विश्वकर्मा,कोहलपुर
बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका बाँकेका किसानलाई यस वर्ष पनि मलको अभाव देखिएको छ । समयमै मलको ढुवानी नहुँदा बाँकेमा रासायनिक मल अभाव देखिएको हो ।
बाँकेमा बर्सेनि ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार ६ हजार सात सय ५८ मेट्रिक डिएपी, १५ हजार सात सय ६ मेट्रिक टन युरिया र तीन सय ५० मेट्रिक टन पोटास आवश्यक पर्छ ।
कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख रमेश पौडेलका अनुसार हालसम्म बाँकेमा दुई हजार ६ सय ४० दशमलब सात सय मेट्रिक टन युरिया मात्र प्राप्त भएको छ ।
तीमध्ये हालसम्म दुई हजार पाँच सय ३२ दशमलब तीन सय मेट्रिक टन मल बिक्री भएको कार्यालय प्रमुख पौडेलको भनाइ छ । हाल एक सय १० दशमलब चार मेट्रिक टन मल मौज्दात रहेको उनले बताए । झन्डै १२ हजार मेट्रिक टन युरिया आउन बाँकी छ ।
हालसम्म डिएपी एक हजार पाँच सय ५४ दशमलब आठ सय मेट्रिक टन प्राप्त भएको र एक हजार पाँच सय ५४ दशमलब ३५० मेट्रिक टन बिक्री भएको छ । उनका अनुसार एक दशमलब पाँच सय मौज्दात छ । ४५ सय मेट्रिक टन डिएपी आउन बाँकी छ । बाँकेमा एक तिहाइभन्दा बढी रासायनिक मल अभाव देखिएको छ ।
बाँकेमा ७५ प्रतिशत रोपाइँ हुन बाँकी रहँदा आवश्यकताभन्दा धेरै कम मल अभाव भएको यससँग सम्बन्धित कार्यालयहरु बताउँछन् । बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारीमार्फत किसानलाई रासायनिक मल आपूर्ति गर्छन ।
लिमिटेडले ७० प्रतिशत र कर्पोरेशनले ३० प्रतिशत कोटामा मल आपूर्ति र बिक्री गर्छन् ।
‘मल आउने क्रम जारी छ । साउनसम्म लाग्छ । यसरी हेर्दा ३० प्रतिशत मल अभाव हुने सम्भावना छ,’ उनले भने । प्रदेश कार्यालयले असार मसान्तसम्म बाँकी मल आउने बताए पनि भारतमा समेत मल अभाव भएकाले अपेक्षाकृतरुपमा मल आपूर्ति हुने सम्भावना निकै कम छ ।
जिल्लामा रहेका आठ स्थानीय तहमा रहेका एक सय सातवटा कृषि सहकारीमार्फत मल बिक्री वितरण हुने गरेको छ ।
रोपाइँ सकिँदासम्म ७० प्रतिशतसम्म मल आपूर्ति हुने कार्यालय प्रमुख पौडेलको दाबी छ । जतिसुकै मेहेनत गरे पनि बाँकी ३० प्रतिशत मल आपूर्ति गर्न सक्ने सम्भावना नरहेको उनको भनाइ छ ।
बाँकेले प्राप्त गर्ने कोटामध्ये ३० प्रतिशत मल बिक्री गर्ने जिम्मेवारी पाएको साल्ट ट्रेडिङ प्रदेश कार्यालय नेपालगन्जमा समेत रासायनिक मल पर्याप्त छैन । कार्यालय प्रमुख मनोज चौधरीले हालसम्म साल्ट ट्रेडिङले एक हजार चार सय ७० मेट्रिक टन युरिया मल बिक्री वितरण गरेको बताए ।
उनका अनुसार पाँच सय ७० मेट्रिक टन डिएपी मल बिक्री वितरण गरिएको छ । साल्ट ट्रेडिङको नेपालगन्जस्थित कार्यालयमा तीन सय ५८ मेट्रिक टन युरिया र दुई सय १७ मेट्रिक टन डिएपी मल मौज्दात रहेको जानकारी दिए ।
‘अहिले स्टक रहेको पर्याप्त होइन । किसानले मागे जति मल छैन । किसानले आवश्यकताभन्दा बढी लिने गरेकोले समस्या देखिन्छ,’ उनले भने ।
साल्ट ट्रेडिङमा डिलर सहकारीको रुपमा नेपालगन्जमा १३, बैजनाथमा नौ, डुडुवामा एक, जानकीमा चार, खजुरामा नौ, कोहलपुर तीन र राप्तीसोनारी गाउँपालिकाका सातवटा सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध हुन्छ । बाँकी रहेको मल छिट्टै आउने दुवै कार्यालयले दाबी गरेका छन् ।
यता, कृषि ज्ञान केन्द्र बाँकेले समेत जिल्लामा रासायनिक मल अभाव रहेको स्वीकार गरेको छ । जिल्लामा सबैभन्दा बढी युरिया, पोटास र डिएपी मल प्रयोग हुने गरेको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी जीवनकुमार केसीले जिल्लाका किसानले मल नपाएको गुनासो गरेको बताए । उनी भन्छन्, ‘मैले बुझेअनुसार मल अभाव छ । माथिल्लो निकायबाटै नआएकाले समस्या हो ।’
प्रतिक्रिया दिनुहोस्