शुभाकर विश्वकर्मा,कोहलपुर
नेपालगन्ज–कोहलपुर सडक खण्डअन्तर्गत पश्चिमतर्फको सडक स्तरोन्नती गर्न थालिएको छ । क्षमताभन्दा बढी लोड भएका सवारी साधन सञ्चालन हुँदा सडक दबेकाले स्तरोन्नती गर्न थालिएको हो ।

पूर्वीतर्फभन्दा पश्चिमतर्फको सडकमा धेरै लोड भएका कमजोर भएकाले सडक स्तरोन्नति गर्न थालिएको सडक डिभिजन नेपालगन्जले जनाएको छ । नेपालगन्जस्थित राँझादेखि कोहलपुरसम्म सडक स्तरोन्नति गरिनेछ । पश्चिम क्षेत्रको सडक स्तरोन्नति गर्न थालिएको सडक डिभिजन नेपालगन्जका डिभिजन प्रमुख निरज शाक्यले जनाए । ‘पश्चिम क्षेत्रमा ठूलो भार क्षमताका सवारी साधन गुड्छन्,’ उनले भने, ‘जसले गर्दा पूर्वतर्फको भन्दा पश्चिमतर्फको सडक केही कमजोर भएको छ ।’
राँझादेखि जमुनाहसम्मको सडकको पनि स्तरोन्नति हुँदैछ । राँझाबाट स्तरोन्नतिको काम सुरु भइसकेको कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी जनक धामीले बताए । राँझादेखि कोहलपुरसम्म एक किलोमिटर क्षेत्रमा सडक स्तरोन्नति उनी बताउँछन् । कार्यालयले सडक स्तरोन्नतिका लागि २०८० वैशाख १४ गते कालीगण्डकी निर्माण सेवासँग सम्झौता गरेको छ ।
सम्झौताको कुल लागत एक करोड ३९ लाख ८३ हजार नौ सय ६० रुपैयाँ छ । सम्झौताअनुसार कालीगण्डकीले चालू आर्थिक वर्षको असार मसान्तसम्म निर्माणको काम सम्पन्न गरिसक्नुपर्नेछ । ‘सडकको स्तरोन्नति सुरु भएको छ । सबै प्रक्रिया पूरा गरेर काम सुरु गरिएको हो । सम्झौताअनुसार काम हुन्छ । राँझाबाट निर्माण सुरु भइसक्यो,’ इन्जिनियर धामीले भने । उक्त सडकखण्डको पूरै सडक विस्तार वा कालोपत्रे गर्ने होइन । राँझादेखि कोहलपुरसम्म जहाँजहाँ बिग्रेको छ त्यहाँ पुनर्निर्माण तथा कालोपत्रे गरिने छ ।
नेपालगन्ज–कोहलपुर सडकखण्डअन्तर्गत राँझादेखि कोहलपुरसम्म सडक स्तरोन्नति, मर्मत सम्भार रहने उनको भनाइ छ । उनी भन्छन्, ‘पूरै सडक निर्माण र कालोत्रे गर्ने होइन । बिग्रेको कालोपत्रे उप्किएको ठाउँमा मर्मत गर्ने हो । ठाउँ एकिन छैन । जहाँ बिग्रेको छ, त्यहाँ गुणस्तरीयरुपमा काम हुनुपर्नेछ ।’ दैनिकजसो ठूला तथा साना सवारी चल्ने र सडक बिग्रेका कारण दुर्घटनाको समेत जोखिम बढ्दै गएपछि सडक स्तरोन्नति गर्न लागिएको हो ।









प्रतिक्रिया दिनुहोस्