21 April 2024  |   आइतवार, बैशाख ९, २०८१

भुपेन्द्रलाई दुई किलोमिटर लखेटेर हत्या गर्ने योजनाकार रावलले गरे आत्मसमर्पण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २५, २०८०  

धनगढी ।

कैलालीका २३ वर्षीय भुपेन्द्र वडुवाल हत्या प्रकरणका मुख्य योजनाकार भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन् । जिल्ला अदालत कैलालीमा उनले आइतबार आत्मसमर्पण गरेका हुन् । कैलालीमा भएको घटनामा पुर्पक्षका लागि कारागार चलान भएका थिए भने केही आरोपी धरौटीमा छुटेका थिए । तर, हत्याका मुख्य योजनाकार भनिएका नवीन रावल पक्राउ पर्न सकेका थिएनन् ।

०७८ कात्तिक २३ गते टीकापुरमा भुपेन्द्रको हत्या भएको थियो । घटनामा संलग्न नवीन रावललगायत अन्य केही अझै फरार थिए । घटनामा फरार अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका अधिकारीहरू बताउँछन् ।

घटनामा कैलालीको चिसापानी बस्ने नवीन रावल, अनुज भन्ने चिरञ्जीवीजंग शाही, हिमाल शाही, जयन्द्र शाह, रोशनबहादुर शाही, अशोक रावल, लोकजंग शाही र हेमन्त शाहीको नाम जोडिएको थियो । सुरुमा एकै समूहमा रहेका जयन्द्र शाह र नवीन रावलबीच मनमुटाव तथा आपसी वैमनश्यता उत्पन्न भएपछि दुई समूहका युवाबीच पटकपटक झगडा हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

दुई समूहका सदस्यहरूविरुद्धमा कैलाली र काठमाडौंमा समेत ६ वटा ज्यान मार्ने उद्योग र दुईवटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको खुलेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

यसरी भएको थियो भुपेन्द्रको हत्या

२०७८ भदौमा काठमाडौंको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नवीन रावल समूहका हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार गरी मार्ने प्रयास गरेको अनुसन्धानबाट खुलेको थियो । त्यसपछि कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नवीन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाएर ०७८ कात्तिक १७ गते काठमाडौंबाट मोटरसाइकलमा कैलाली गएका थिए । २० गते कैलाली लम्की पुगेर होटेलमा एक रात बसेर हत्या योजना बनाएको खुलेको थियो ।

२१ र २२ गते बौनियास्थित अनुकूल होटेलमा बसी नवीन रावललाई आक्रमण गर्ने योजना बनाएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बाह्रखरीलाई बताए ।कात्तिक २३ गते नवीन रावलसमेतको समूह लम्कीमा आयोजित फुटबल खेल हेर्न पुगेको थियो । उक्त जानकारी कपिल श्रेष्ठले आफ्ना समूहलाई खबर गरी लम्की खेल मैदानमै आक्रमण गर्न खोजेका थिए । तर, उनको उनको समूह समयमै लम्की पुग्न नसकेपछि आक्रमण योजना सफल भएन । आक्रमणको सूचना नवीन समूहले पाएपछि सो समूहले जयन्द्र समूहको जुनसुकै व्यक्ति फेला परे पनि आक्रमण गर्ने योजना बनाएको थियो ।

कपिल श्रेष्ठ एक्लिएपछि टीकापुर क्षेत्रमा लुकेर बसेका थिए । प्रहरीका अनुसार कपिलले लम्कीमा रहेका मिल्ने साथी भुपेन्द्र बडुवाललाई फोन गरी आफूलाई लिन बोलाएपछि भुपेन्द्र उनलाई लिन गएका थिए । सोही क्रममा टीकापुरको जमरा पुल नजिक आर्यन देवकोटालगायतले भुपेन्द्र बडुवाललाई फेला पारी ‘हामीविरुद्ध टीकापुरमा आएको हो भन्दै’ दुई किलोमिटरसम्म लखेटेर सिद्धार्थ होटेल नजिक पुर्याएको खुलेको थियो ।

मोटरसाइकलमा रहेका भूपेन्द्र मोटरसाइकल छाडेर आफन्तको घरतर्फ जाँदा पछाडिबाट लखेटी आर्यन देवकोटालगायतले भुपेन्द्र बडुवाललाई नियन्त्रणमा लिई पेट र छातीमा दुई पटक, पिठ्युमा तीन पटक र टाउकोको पछाडि भागमा एक पटक धारिलो हतियार प्रहार गरेका थिए ।

घटनाका मुख्य योजनाकार नवीन रहेको प्रहरीले बताउँदै आएको थियो । नवीनले टिकापुर क्षेत्रमा विभिन्न अपराधीक काम गर्दै आएका थिए । विभिन्न ठेक्कापट्टामा समेत उनले हस्तक्षेप गर्दै आएका थिए ।

हत्या गरिएका भुपेन्द्र केही समयपछि विदेश जाने तयारीमा थिए ।

 

प्रकाशित मितिः सोमवार, बैशाख २५, २०८०     2:33:52 PM  |