बाँकेका ठकुरीको निर्णायक गोलले नेपाल फाइनलमा



कोहलपुर, बाँकेस्थित खजुराका दिपकराज सिंह ठकुरीको निर्णायक गोलले नेपाल काठमाडौंमा जारी थ्री नेशन्स कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा भुटानसँगको खेलमा ठकुरीले निर्णायक गोल गरेपछि नेपाल फाइलनमा प्रवेश गरेको हो ।


उनले खेलको ८९औँ मिनेटमा नेपाली राष्ट्रिय टिमका लागि पहिलो डेब्यु गोल गरे । बाँकेका ठकुरीको मंगलबारको खेल नेपाली राष्ट्रिय टिमका लागि दोस्रो खेल थियो । राष्ट्रिय टिममा स्थान बनाएको दोस्रो खेलमै उत्कृष्ट खेल प्रदर्शन गर्दै ठकुरीले नेपाललाई हारबाट जोगाए । भुटानविरुद्ध नेपालको यो पहिलो बराबरी हो ।

यसअघि नेपाल र भुटानबीच भएको खेलमा नेपालले १२औँपटक जीत हासिल गरेको छ । ठकुरीले थ्री नेशन्स कपअन्तर्गत लाओसविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए । दीपकले अहिले ए डिभिजन लिग खेलिरहेका छन् । लिगमा उनले पाँच खेलमा चार गोल गरिसकेका छन् ।

मंगलबार खेलमा ठकुरीले दोस्रो हाफमा अञ्जन विष्टको स्थानमा मैदान प्रवेश गरेका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ठकुरीको निर्णायक गोल भुुटानलाई घर फर्काउन पर्याप्त भयो । उनले नेपालका मिडफिल्डर अनन्त तामाङको हेड पासमा निकै सुन्दर हेडर गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा ठकुरीले दोस्रो गोल गरे पनि उक्त गोलले मान्यता पाएन । रेफ्रीले उनलाई अफसाइट देखाइदिए ।

त्यसअघि भुटान नेपालसँग १–० गोलले अघि थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको २०औँ मिनेटमा नेपालले गोल खाएको थियो । भुटानका दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले खेलको २०औँ मिनेटमा गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । बाँकेका ठकुरीको गोलको प्रेरणाले नेपालले कपको फाइलनमा लाओससँगको भिडन्त पक्का ग¥यो ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १५ गते बुधबार