सुरु भयो बाँकेका चारवटै क्याम्पसमा स्ववियु निर्वाचन, सुरक्षा व्यवस्था कडा



देशभरका विभिन्न क्याम्पसहरुका साथै बाँकेका विभिन्न चार वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचन हुँदैछ । निर्वाचन हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके ।

देशभरका विभिन्न क्याम्पसहरुका साथै बाँकेका चार वटा क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को चुनाव हुँदैछ । पूर्व निर्धारित तालिकाअनुसार क्याम्पसहरुमा स्ववियुको नयाँ नेतृत्व चयनको लागि आज मतदान हुन गइरहेको हो । कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस, नेपालगन्ज नसिङ्ग क्याम्पस, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस र जन सिद्देश्वर बहुमुखी क्याम्पस हब्रहवामा आज निर्वाचन हुनेछ ।

निर्वाचनलाई ध्यानमा राखेर स्ववियुको चुनाव हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बाँकेका चारवटै क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सबै क्याम्पसहरुमा आवश्यकताको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले निर्वाचनको लागि चुस्तदुस्त सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।

मतदाता नामावलीमा नाम रहेका विद्यार्थीहरुले आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो क्याम्पसमा पुगेर मतदान गर्न पाउँनेछन् । आज निर्वाचन हुन गइरहेका क्याम्पसमा विद्यार्थी संगठनहरु कतै सहकार्य र कतै प्रतिस्पर्धा गर्नेगरी चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरु आफु अनुकुल हुनेगरी गठबन्धन गरेर समेत चुनावी मैदानमा उत्रिएका हुन् ।

कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा २०७३ मा एक्लै चुनाव जितेको अनेरास्ववियुले यसपटक भने नेकपा एकिकृत (समाजवादी) निकट अनेरास्ववियूसँग गठबन्धन गरेको छ । अनेरास्ववियूसँगको गठबन्धनबाट देबेन्द्र बहादुर बुढालाई अध्यक्षमा अगाडि सारिएको अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन घिमिरे बताए । कांग्रेस निकट नेविसंघ र माओवादी निकट अखिल क्रान्तिकारी भने एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।

बागेश्वरीमा नेविसंघबाट टिका कुमारी शाही र क्रान्तिकारीबाट लक्ष्मण आचार्य (मानव) अध्यक्ष उम्मेदवार रहेका छन् । २०७३ मा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुले जित हात पारेको नेपालगन्ज नर्सिङ्ग क्याम्पसमा सभापतिमा दुई जना चुनावी मैदानमा
छन् । संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीले दिपिका सोनी, अनेरास्ववियुले एक्लै निलिमा गिरीमा सभापतिमा अगाडि सारेको छ । क्रान्तिकारीलाई नेविसंघ र अनेरास्ववियूले साथ दिएका छन् । तीन संगठनको संयुक्त प्यानल बनाएर नर्सिङ्ग क्याम्पसमा आफुहरु चुनावमा होमिएको अखिल क्रान्तिकारीका केन्द्रिय सचिव तुलसीमणी केसीले बताए ।

खजुरामा रहेको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा तीन ठूला संगठनहरु एक्ला एक्लै चुनावी मैदानमा छन् । २०७३ सालमा भएको चुनावमा ज्ञानोदयमा नेविसंघले जितेको थियो । अहिलेको निर्वाचनमा नजिता आफ्नो पक्षमा पार्नको लागि संगठनहरुले एक्ला एक्लै आफ्ना उम्मेदवार उठाएका छन् । सभापतिमा यहाँ अनेरास्ववियुले विनय यादव, अखिल क्रान्तिकारीले सरिफ खाँ र नेविसंघले हिमाल पंगालीलाई उम्मेदवार बनाएको छ ।

राप्ती नदी पारी क्षेत्रमा रहेको एकमात्र जन सिद्देश्वर बहुमुखी क्याम्पस हब्रहवामा सभापति पदका लागि पाँच जना चुनावी मैदानमा रहेका
छन् । २०७३ सालको निर्वाचनमा नेविसंघले जितको यहाँ अहिले उसले अन्य दुई संगठनसँग गठबन्धन गरेर उम्मेदवार उठाएको छ । अन्य चार संगठनहरुले भन्ने एक्लै उम्मेदवार उठाएका छन् । नेविसंघले अनेरास्ववियू र नागरिक विद्यार्थी समाजको सहयोगमा निरा थारुलाई सभापतिमा अगाडि सारेको छ ।

नेविसंघ बाँकेका सभापति उपेन्द्र विष्टले आवश्यकताको आधारमा अन्य संगठनहरुसँग सहकार्य गरेर अगाडि बढेको बताए । अन्य संगठन अनेरास्ववियुले हस्त बहादुर घर्ती, अखिल क्रान्तिकारीले ईन्द्र बहादुर थारु, अनेरास्ववियु क्रान्तिकारीले लालु थारु र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुधिराम थारुलाई सभापतिमा अगाडि सारेका छन् ।

यस क्षेत्रमै सबैभन्दा बढी विद्यार्थी संख्या रहेको महेन्द्र बहुमुखी क्याम्पसमा भने चैत्र ८ गते स्ववियु निर्वाचन हुँदैछ । जिल्लामा स्ववियु निर्वाचन हुन गइरहेका पाँच क्याम्पसमध्ये चारबाट त्रिभुवन विश्वविद्यालय र एक मध्यपश्चिम विश्वविद्यालय अन्तरर्गतका क्याम्पस रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार