25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नेपालगन्जबाट कर्णालीमा उडान रोकेर फेरि लागे पूर्व जहाज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ३०, २०७९  

नेपालगन्ज ।

प्रायः पर्यटकीय गतिविधि हुने र नेपालगन्जबाट पहाडी जिल्लामा जाने यात्रुहरुको चाप फागुन महिनापछि नेपालगन्जबाट विमान कम्पनीहरुले उडान रोक्छन् ।

उनीहरु काठमाडौं र पूर्वी क्षेत्रका पर्यटकीय गन्तव्यहरुमा उडान गर्न भन्दै उतै लाग्छन् । यस वर्ष पनि यही अवस्था दोहोरिएको छ । अहिले नेपालगन्जबाट तारा र सीता एयरले पश्चिम पहाडी जिल्लामा हुने उडान रोकेर पूर्वी क्षेत्रमा उडान भर्न थालेका छन् । जसको सास्ती सर्वसाधारण नागरिकहरुले व्यहोर्नु परिरहेको छ ।

नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लाहरुमा सीता, समिट, तारा र नेपाल एयरलाइन्सका जहाजहरुले उडान भर्दै आएकोमा अहिले सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र समिट एयरले मात्रै उडान गरिरहेका छन् । प्रायः हिमाली जिल्लाबाट हिउँदको समयमा जाडो छल्न मानिसहरु तराई झर्ने र गर्मी मौसम लागेपछि फेरि हिमाल फर्किने चलन छ ।

यसका अलावा यो मौसम हिमाली जिल्लामा जाने यात्रुहरुको चाप बढी हुने, विकास निर्माणका काममा सरकारी कर्मचारीहरु र जनताहरुले यात्रा गर्ने समय पनि यही हो । तर, उडानहरु नै नहँुँदा उनीहरुले टिकट पाउन नै समस्या भइरहेको छ । त्यसमा पनि सर्वसाधारण यात्रुहरुले टिकट पाउन नै मुस्किल भइरहेको छ ।

विदेशी पर्यटकहरु ओसार्ने र ‘डलरमा कमाइ’ गर्ने ध्याउन्नमा लागेर निजी कम्पनीका विमानहरुले कर्णाली र सुदूरपश्चिमको लागि हप्तामा एकदिन गर्नुपर्ने सहुलियत उडानसमेत गरिरहेका छैनन् । सर्वसाधारण जनताले टिकटका लागि अनेक संघर्ष गर्नुपरिरहेको छ । नेपालगन्ज विमानस्थलका प्रमुख सुरेशप्रसाद खनाल अहिले हप्तामा करिब ३५ वटा उडान भइरहेको बताउँछन् ।

तर, केही विमान कम्पनीहरुले नेपालगन्जको उडान रोकेर पूर्वतिरको सेड्युल लिएको बताए । उनले भने, ‘केन्द्रबाटै उनीहरुले पहिलेको भन्दा फरक सेड्युल लिएका छन् । सेड्युल नै त्यहीअनुसार आएको छ र उडान गर्न पूर्वतिर लागेका हुन् ।’

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ३०, २०७९     11:45:37 AM  |