17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

ठाकुरबाबामा आपतकालीन स्वास्थ्य सेवा सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २९, २०७९  

मिसन संवाददाता
बर्दियास्थित ठाकुरबाबा नगर अस्पताल नेउलापुरले अबदेखि चौबिसैं घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा सुचारु गरेको छ । नगरवासीको स्वास्थ्य सेवा सुविधालाई मध्यनगर गर्दै नगर अस्पतालले उक्त सेवा सुरु गरेको हो ।
ठाकुरबाबा नगरपालिकाको छैठौँ स्थापना दिवसको अवसर पारेर नगर अस्पतालबाट आकस्मिक बिरामी जाँच सेवा २४सैं घण्टा उपलब्ध गराउन थालिएको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिए । पालिका स्थापना दिवसको अवसरमा एक कार्यक्रमका बीच नगर प्रमुख लम्सालले इमर्जेन्सी स्वास्थ्य सेवाको शुभारम्भ गरे । अस्पतालमा पहिलो चरणमा पाँच वेडबाट सेवाको सुरुवात गरिएको छ । आगामी दिनमा वेड संख्या थप गर्दै लगिने नगर प्रमुख लम्सालले बताए ।


अस्पतालबाट यस अघि बिरामीले दिउँसो मात्र स्वास्थ्य सेवा पाउँदै आएका थिए । इमर्जेन्सी सेवा सुचारु भएपछि नगरवासीले जुनसुकै समयमा पनि अस्पतालबाट स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने छन् । आकस्मिक कक्षमा अस्पतालमा हाल कार्यरत रहेका दुईजना एमबीबीएस चिकित्सकसहित स्वास्थ्य सहायक, स्टाफ नर्स र अनमीलगायतका स्वास्थ्यकर्मीबाट सेवा उपलब्ध गराइने स्वास्थ्य शाखाले जनाएको छ ।

अस्पतालमा इमर्जेन्सी स्वास्थ्य सेवा सुचारु भएपछि रातिको समयमा निजी क्लिनीक जानु पर्ने नगरवासीको बाध्यता हटेको छ । अस्पतालमा इमर्जेन्सी सेवा नहुँदा नगरवासी अस्पताल खुल्ने समयबाहेक अन्य समयमा आपतकालीन सेवाका लागि निजी तथा जिल्ला बाहिरका स्वास्थ्य संस्थामा जान बाध्य थिए । घरदैलोमै आपतकालीन सेवा पाउने भएपछि नगरवासी खुसी भएका छन् ।

‘नगर अस्पतालबाट अब जुनसकै बेलामा पनि आपतकालीन स्वास्थ्य सेवा पाउने भयौँ । यस्तो सेवाले जनताको स्वास्थ्य सेवा पाउने अधिकार केही हदसम्म सुनिश्चित गरेको छ,’ स्थानीय दिलमाया खत्रीले भनिन् । आपतकालीन सेवा सुचारु भएसँगै अस्पतालबाट विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा पनि प्राप्त हुनुपर्ने नगरवासीको भनाइ छ ।

नगर अस्पतालले दैनिक बिरामी जाँच सेवा (ओपिडी), प्रयोगशालाअन्तर्गत सिकलसेल, रगत, दिशा, पिसाब, खकारलगायतको जाँच हुने गरेको ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रलाल राजवंशीले जानकारी दिए । यसैगरी रंगीन तथा सादा भिडियो एक्स–रे सेवा, रेविजविरुद्धको एआरभी भ्याक्सिन सेवा र इसीजी सेवा पनि उपलब्ध गराउँदै आएको अस्पताल प्रमुख राजबंशीले बताए । यसका साथै नगर अस्पतालबाट नेपाल सरकारबाट प्राप्त हुने निःशुल्क औषधि वितरण तथा मानसिक स्वास्थ्य उपचार र मनोपरामर्श सेवासमेत उपलब्ध गराउँदै आएको उनले बताए ।
नगर अस्पतालले तत्कालीन नेउलापुर स्वास्थ्य चौकीको भवनबाट हाल स्वास्थ्यसेवा सुविधा दिँदै आएको छ । ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ३ नेउलापुरमा नगर अस्पतालको भवन निर्माणाधीन अवस्थामा छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २९, २०७९     9:52:46 AM  |