एटिएम सुरक्षाबारे कोहलपुर प्रहरीको अन्तरक्रिया



कोहलपुर ।

कोहलपुर क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाहरुमा रहेका एटिएम सुरक्षाका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको आयोजनामा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँग एटिएम सुरक्षा र अन्य सुरक्षाका विषयमा अन्तरक्रिया सम्पन्न भएको हो ।

अन्तरक्रियामा बोल्दै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँग बैंक तथा वित्तीय संस्थामा जोडिएका एटिएमहरुको सुरक्षा तथा सुरक्षामा अपनाउनुपर्ने उपायहरुको बारेमा अन्तरक्रिया तथा छलफल आयोजना गरिएको बताए ।

उनले सुरक्षित कोहलपुरको लागि एटिएमको सुरक्षा अनिवार्य रहेको बताए । बैंक तथा वित्तीय संस्थाहरुमा एटिएमसम्बन्धी ससाना कुरामा ध्यान नदिँदा चोरीको उच्च जोखिम रहेको बताए । यस्तै रातिको समयमा संस्थाहरुमा सुरक्षा गार्ड नहुँदा पनि एटिएम चोरीको सम्भावना रहेको उनले बताए । बैंक तथा वित्तीय संस्थाहरुमा एटिएम सुरक्षा अनिवार्य रहेको उनले जोड दिए ।

उक्त अन्तरक्रिया र छलफलबाट बैंक तथा वित्तीय संस्थाहरुको एटिएम सुरक्षा र अन्य विषयमा विभिन्न चारवटा निर्णय गरिएको थियो । उक्त अवसरमा अबदेखि कोहलपुरमा एटिएमको भ्यालुट लक र अनलक गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी पूर्णरुपमा पालना गराउन मातहतका जनशक्तिलाई जानकारी गराउने र सो निर्णय कार्यान्वयन भए नभएको बारेमा शाखा प्रबन्धक सुनिश्चित गर्ने निर्णय गरिएको छ ।

यस्तै एटिएम रहेका क्षेत्रमा अनिवार्यरुपमा सीसीटिभी जडान गर्ने र बैंक तथा वित्तीय संस्थाहरुको आगमन र प्रस्थान विन्दुमा प्रकाशको व्यवस्था गर्ने र पेरीमिटर क्षेत्रमा सीसीटिभी जडानको लागि सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णय गरिएको थियो ।

इलाका प्रहरी कार्यालयअन्तर्गत कूल दुई लाख १६ हजार जनसंख्या रहेको छ । हाल कोहलपुर क्षेत्रमा १५ मध्ये १२ वटा मात्रै सीसीटिभी प्रयोगमा छन् । तीनवटा बिग्रिएको अवस्थामा छन् ।

उनले कार्यालयले सुरक्षित कोहलपुरको लागि एउटा सीसीटिभी अभियान सुरु गरेको बताएका थिए । अब बैंक तथा वित्तीय संस्थाहरुमा समेत अनिवार्य सीसीटिभी जडान गर्ने निर्णय गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन २७ गते शनिबार