नेपालगन्ज (बाँके) ।
सरकारले बाँकेसहित १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । यसअघि बिहीबारसम्म औषधि खुवाइने भनिए पनि थप पाँच दिन समय थप गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार आउँदो ३० गते मंगलबारसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने छ । गएको ११ गतदेखि बाँके, दाङ, कैलाली, झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ र कपिलवस्तुमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन अभियान चलिरहेको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाएर खुवाइएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । औषधिले शरीरमा हात्तीपाइलेको परजीवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ । हात्तीपाइलेको लक्षण देखिएपछि औषधि खाँदा निको हुँदैन । त्यसैले रोग लाग्नु अगावै औषधि खान डाक्टरको सुझाव छ । हात्तीपाइले रोगविरुद्धको औषधि ६ वर्षसम्म लगातार वर्षमा एकपटक गरी ६ पटकसम्म खानुपर्छ ।
औषधि खाएपछि केही व्यक्तिलाई ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने भन्दै ढुक्क भएर औषधि खान डाक्टरले सुझाव दिएका छन् । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले भने यो औषधि खानु नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपांग बनाउने एक सरुवा रोग हो । यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । सरकारले ४८ जिल्लामा भने हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान बन्द गरेको छ ।
हिमाली आठ जिल्ला सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला कालीकोट, मुगुमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन अभियान सञ्चालन गर्न आवश्यक भए/नभएको बारे अनुसन्धान हुँदैछ । सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।








प्रतिक्रिया दिनुहोस्