मधुर पौडेल । बाँसगढी ।
नेकपा एमाले र नेकपा माओवादीविरुद्ध बाँसगढी उद्योग वाणिज्य संघको चुनावमा नेपाली कांग्रेस नेतृत्वमा चार दल चुनावी मैदानमा होमिएका छन् । बिहीबार नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी निकट व्यवसायीले चुनावी तालमेल गरेर संयुक्त प्यानल घोषणा गरे ।
बाँसगढी उद्योग वाणिज्य संघको नेतृत्वसँगै कार्य समितिमा सहमति हुन नसकेपछि दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा हुनेछ । दुई प्यानलले यहाँको चुनावी माहोललाई गर्माएका छन् । चार दल सम्मेलित लोकतान्त्रिक समावेशी स्वतन्त्र व्यवसायी प्यानल घोषणा भएको छ । व्यवसायी बद्रीनाथ बराल नेतृत्वमा ‘हाम्रो संकल्पः मर्यादित व्यवसाय, सम्मानित व्यवसायी’ भन्ने नारासहित उक्त प्यानल घोषणा गरेका हुन् ।
लोकतान्त्रिक समावेशी स्वतन्त्र व्यवसायी प्यानलको वरिष्ठ उपाध्यक्षमा मायाकुमारी पौडेल, उद्योग उपाध्यक्षमा खेमराज भट्टराई, वाणिज्य उपाध्यक्षमा ईन्द्रजित बुढाक्षेत्री, महिला उपाध्यक्ष मनु अधिकारीले चुनावी प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महासचिव पदमा भोजराज शर्मा, सचिवमा यज्ञबहादुर वली, कोषाध्यक्षमा सरोजकुमार थारु र सहकोषाध्यक्षमा सुनिल अधिकारीको नाम उम्मेदवारको रुपमा घोषणा गरिएको छ ।
कांग्रेसबाट सदस्यमा अजय तिवारी, महेश अधिकारी, रामलाल श्रेष्ठ, लक्ष्मण थारु, किशोर शर्मा, शान्ताप्रभा अधिकारी, कृष्ण खड्का, देवराज राणा, सञ्जुकुमार वली र कृष्णप्रसाद देवकोटाको नाम घोषणा गरिएको छ ।
सदस्यमा नेकपा एकीकृत समाजवादीबाट विष्णु परियारलाई उम्मेदवार बनाइएको छ । लेखा संयोजकमा कांग्रेसबाट डिलु पौडेल ज्ञवाली र लेखा सदस्यमा कांग्रेसका सुरजकुमार थारु र नागरिक उन्मुक्ति पार्टीकी सुनिता थारुको उम्मेदवारी घोषणा भएको छ ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, सचिवसँगै १० सदस्य कांग्रेसले पाएको छ भने महिला उपाध्यक्ष र एक सदस्य नेकपा एकीकृत समाजवादीले पाएको छ । कोषाध्यक्ष र एक लेखा सदस्यमा नागरिक उन्मुक्ति पार्टीले पाएको छ भने सहकोषाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको छ ।
चर्काे व्याज दरविरुद्ध सशक्तरुपमा अगाडि बढ्ने, फिरन्ते व्यवसायीको निराकरणसँगै समस्या समाधान गर्ने, बाँसगढीलाई सफा र सुन्दर बनाउन सरसफाइ अभियानको पहल गर्ने, कृषि, जडीबुडीको सम्भावना भएकाले यसको खोजी गर्ने, बाँसगढी उद्योग वाणिज्य संघलाई प्रदेशसँग जोडिएको र केन्द्रमा जोड्ने र यहाँका सबै व्यवसायीका हरेक समस्या समाधानमा सक्रिय रहने अध्यक्ष बरालले प्रतिबद्धता व्यक्त गरेका छन् ।
आउँदो चैत ४ गते संघको तेस्रो साधारणसभा तथा अधिवेशन हुँदैछ । यसभन्दा अघि नेकपा एमाले र माओवादीले साझा प्यानल घोषणा गरिसकेका छन् ।








प्रतिक्रिया दिनुहोस्