खजुरामा महायज्ञ तथा संगीतमय कथा प्रवचन सुरु



खगेन्द्र दाहाल । खजुरा ।

खजुरालाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा संगीतमय कथा प्रवचन सुरु भएको छ । वडा नम्बर ३ मा रहेको लक्ष्मीनारायण मन्दिरको प्रांगणमा फागुन ३० गतेसम्म सञ्चालन हुने महायज्ञको बुधबार खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै गााँउपालिकाका अध्यक्ष विकले आध्यात्मलाई सामाजिक रुपान्तरण गर्ने गरी गरिएको महायज्ञको विशेष अर्थ राख्ने बताए । उनले खजुरालाई धार्मिक पर्यटकीयस्थलका रुपमा स्थापित गर्न महायज्ञ सार्थक बन्ने विश्वास व्यक्त गरे । महायज्ञबाट निर्माण गर्ने भनिएको विशोल मुर्तिमा पालिकाको सहकार्य रहने उनले प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले लक्ष्मीनारायण मन्दिरको प्रांगणबाट खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालदेखि खजुरा खानेपानी तथा सरसफाइ आयोजना एवम् ज्ञानोदय मावि विद्यालयको परिकल्पना गरिएको बताउँदै लक्ष्मीनारायाण मन्दिरसँग खजुरावासीको विश्वास जोडिएको उल्लेख गरे ।

खजुरा गाँउपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले खजुरा क्षेत्रमा खजुरावासीको योगदान उच्च रहेको बताउँदै खजुरावासीलाई धन्यवाद व्यक्त गरिन् । उनले महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्न पालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताइन् । महायज्ञ आयोजक मूल समिति संयोजक एवम् लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिव श्रेष्ठका अनुसार नयाँ पुस्तामा धर्मको प्रचार गर्न महायज्ञले सहयोग गर्ने बताए ।

महायज्ञबाट उठेको रकमबाट लक्ष्मीनारायण मन्दिर परिसरमा ६० फिट अग्लो संरचना निर्माण गरी उक्त संरचनामाथि विद्युतीय चक्रसहितको लक्ष्मी र नारायाणको मुर्ति स्थापना गरिने श्रेष्ठले बताए । निर्माणपश्चात खजुरा आसपासका क्षेत्रबाट विद्युतीय चक्र र लक्ष्मीनारायणको मुर्ति देख्न सकिने उनले बताए ।

श्रेष्ठका अनुसार संरचना स्थापना गर्न करिब चार करोड रकम लाग्ने छ भने निर्माण तीन वर्षदेखि पाँच वर्षसम्ममा सम्पन्न हुनेछ । साथै लक्ष्मीनारायणको दर्शन गर्नका लागि माथि चड्न संरचनाभित्र सिडी र लिफ्ट निर्माण गरिने उनले बताए ।

कार्यक्रममा महायज्ञका प्रमुख सल्लाहकार शरण कर्माचार्यले खजुरा र लक्ष्मीनारायण मन्दिरको इतिहास बताउँदै यस स्थानमा बस्ती बस्नुभन्दा पहिला पनि मानिसको बसाइँ रहेको प्रमाणहरु भेटिएको बताए । उनले लक्ष्मीनारायण मन्दिरको प्रांगणमा बसेर संकल्प गरेर हरेक कामहरु सफल भएको बताउँदै खजुरामा मानिसहरुको बस्तीभन्दा पहिलाका धेरै धार्मिक क्षेत्रहरु भएकाले खजुरालाई धार्मिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए ।

क्यान्सर अस्पतालका संकल्पकर्ता सन्त श्री दीनदयाल महाराजले खजुरावासीले आयोजना गर्ने हरेक कार्यक्रम सकारात्मक हुने बताए । उनले क्यान्सर अस्पतालले इतिहास रचेको उल्लेख गर्दै अहिले पनि खजुरावासीको संकल्प पूरा हुने बताए । बुधबार महायज्ञ उद्घाटनपूर्व पञ्चेबाजासहित भजनकृतन गर्दै एक सय आठ कलशसहित लक्ष्मीनारायण मन्दिरबाट कलश यात्रा सुरु गरिएको थियो । कलश यात्रा खजुरा बजार हुँदै एक नम्बर बजार, धनौली चौकी पुगेर पुनः मन्दिरमा फर्किएको थियो । यात्रामा पाँच सय बढी खजुरावासीको उपस्थिति थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन २६ गते शुक्रबार