नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाले रिक्सा चालक महिलासहित एउटा संस्था र एकजना उद्यमीलाई सम्मान गरेको छ ।
११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालगन्जमा आयोजित स्कुटर र मोटरसाइकल ¥यालीको समापन कार्यक्रममा रिक्सा चालक महिलासहित मानव बेचविखनविरुद्ध काम गरिरहेको संस्था माइती नेपाल र उद्यमी रीतु गुरुङलाई सम्मान गरिएको हो ।
रिक्सा चालक पुरुषले मात्रै गर्ने काम भएको धारणालाई चिर्न र महिलाहरु जस्तोसुकै काममा पुरुष सरह काम गर्न सक्छन् भन्ने धारणालाई बल पु¥याउँदै उनीहरुलाई हौसला प्रदान गर्न सम्मान गरिएको उपमहानगरपालिकाले जनाएको छ । रिक्सा चालक मीना खड्का र कमला विष्टसहित नौजना महिलालाई सम्मान गरिएको छ । सम्मानित हुने सूचीमा नौजनाको नाम रहे पनि कार्यक्रममा भने विष्ट र खड्कामात्रै उपस्थित थिए ।
यसैगरी, नेपालगन्जमा मानव बेचविखन, हिंसा तथा अन्य जोखिममा परेका महिलाहरुलाई राखेर आवास तथा पुनस्र्थापनामा उत्कृष्ट कार्य गरिरहेको भन्दै माइती नेपाललाई सम्मान गरिएको छ ।
केही दिनअघि उपमहानगरपालिकाको टोली पुनस्र्थापना केन्द्रको अनुगमनमा गई उत्कृष्ट संस्था छनोट गरिएको उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले जानकारी दिइन् । यस्तै उद्यमी रीतु गुरुङ महिला उद्यमीको तर्फबाट यस वर्षको उत्कृष्ट महिला उद्यमीका रुपमा सम्मान गरिएको उनले बताइन् ।
सम्मान कार्यक्रमअघि नगरस्तरीय लैंगिक हिंसा निगरानी सञ्जालको आयोजनामा जमुनाहा नाकादेखि गणेमानचोक, पुष्पलालचोक, बसपार्क हुँदै रामलिला मैदानसम्म स्कुटी तथा मोटरसाइकल ¥याली निकालिएको थियो । ¥यालीमा विभिन्न संघसंस्थामा प्रतिनिधिहरु, अधिकाकर्मीहरु, बाल क्लबका प्रतिनिधिलगायतको सहभागिता थियो । सहभागीहरु महिला हिंसाविरुद्ध र लैंगिक समानताका पक्षमा विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए ।
¥यालीको समापन कार्यक्रममा प्रमुख अतिथि रहेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उपमहानगरपालिकाले महिला सशक्तिकरण र आर्थिकरुपले महिलाहरुलाई स्वावलम्बी बनाउने दिशामा काम गरिरहेको बताए ।
उनले महिलाहरुको हक र अधिकार स्थापनाका लागि अगुवा महिलाहरुले पछि परेका महिलाहरुलाई साथ दिनुपर्ने औँल्याउँदै उपमहानगरपालिकालाई सकारात्मक सुझाव र सल्लाह दिन पनि आग्रह गरे । कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख शाह, प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख महेश्वरी विष्टलगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।








प्रतिक्रिया दिनुहोस्