मिसन संवाददाता
बाँके, २२ फागुन
कोहलपुर क्षेत्रमा रातिको समयमा हुने दुर्घटना र चोरीका घटनामा अनुसन्धान गर्न प्रहरीलाई केहिलकसो हम्मेहम्मे हुन्छ । नगर क्षेत्रमा लगाइएका क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) क्यामेरा अपर्याप्त हुनु र भएकाले पनि काम नगर्दा प्रहरीलाई घटनाको बारे सुरुको अवस्था पत्ता लगाउन कठिन छ । प्रहरी लामो अनुसन्धानपछि मात्र घटनाको यथार्थसम्म पुग्छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरले अभियान थालेको छ ।
‘सुरक्षित कोहलपुरका लागि एउटा सीसीटिभी क्यामेरा’ अभियान सोमबारदेखि सुरु गरेको छ । यस अभियानलाई इलाका प्रहरी कार्यालय कोहलपुरले सुरक्षाको एउटा अंग मानेको छ । अभियानको मुख्य लक्ष्य नगरको भौगोलिक क्षेत्रभित्र शान्ति सुरक्षा, अमनचयन, पारदर्शी सहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहोरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रणजस्ता अनधिकृत क्रियाकलापमाथि नियन्त्रण गर्नु रहेको प्रहरीले जनाएको छ । यस अभियानअन्तर्गत सुनचाँदी व्यवसायी, बैंक तथा वित्तीय संस्था, मार्ट, होटेल, उद्योगहरुलाई एउटा क्यामेरा सडक क्षेत्रतिर फर्काउनु अनुरोध गरिने छ । यसका लागि प्रहरीले समन्वय गरिरहेको छ ।
कोहलपुर क्षेत्रलाई थप सुुरक्षित बनाउन र यहाँको अपराध न्यूनीकरणका लागि उक्त अभियान सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले बताए । ‘सीसीटिभी क्यामेरा नहुँदा घटनाको अथार्थ पत्ता लगाउन समस्या भएको छ,’ उनले भने, ‘कति सरकारकै मात्र मुखताखेर बस्ने । नागरिक तथा व्यावसायिक दायित्व निर्वाह गर्न र गराउन व्यवसायीसँग समन्वय गर्न थालेका छौं ।’
अभियानमार्फत कोहलपुर सहर क्षेत्रभित्र करिब तीन सयभन्दा बढी सीसीटिभी क्यामेरा जडान हुने अपेक्षा गरिएको छ । केही व्यवसायीले भने सडकतिर सीसीभिटी फर्काउन सुरु गरिसकेका छन् । व्यवसायी, उद्योगीहरुसँग समन्वयन गरेर काम गर्दा अपराध न्यूनीकरणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘यसरी जाँदा व्याकपको पनि समस्या हुँदैन । नेटवर्क पनि समस्या समाधान हुन्छ,’ डिएसपी तिवारी भन्छन्, ‘जसले शान्त, सुरक्षित कोहलपुर बनाउन मद्दत पुग्छ ।’
अपराधिक गतिविधिको निगरानी गर्न यस अभियानले सहयोग गर्ने अपेक्षा गरिएको छ । कोहलपुर क्षेत्रमा जडान गरिएको सीसीटिभी क्यामेराका कारण प्रहरीलाई अनुसन्धानमा सहयोग पुग्ने स्थानीयको भनाइ छ । कतिपय बेला घटना घटिसकेपछि सम्बन्धित घटनाबारे सीसीटिभी क्यामेराको रेकर्डमार्फत अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउनसमेत यसको प्रयोग प्रभावकारी भएको उनको भनाइ छ । कुनै शंकास्पद गतिविधि क्यामेरामा देखिएमा तुरुन्त त्यस स्थानमा प्रहरी परिचालन गर्नेदेखि लिएर सडकको अस्तव्यस्तता हटाउन क्यामेरा सहयोगी बन्ने प्रहरीले अपेक्षा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्