विद्युतीय गाडी ल्याउँदै कोहलपुर नगर प्रहरी



कोहलपुर, कोहलपुर नगर प्रहरीले गस्तीका लागि विद्युतीय गाडी खरिद गरेको छ । हाल साइकल, मोटरसाइकल र टिप्परमा गस्ती गरिरहेको नगर प्रहरीले आफ्नै विद्युतीय गाडी प्रयोगमा ल्याउने भएको हो ।
कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार टेण्डर प्रक्रियामार्फत खरिद गरेर विद्युतीय सवारी प्रयोगमा ल्याउने तयारी छ । नगर प्रहरीले केही दिनमै गाडी औपचारिकरुपमा प्रयोगमा ल्याउने उनले बताए । गाडी कोहलपुर आइपुगेपछि १–१५ वटै वडामा प्रयोग गरिने उनले बताए ।

उनले भने, ‘हामीले सीमित स्रोत र साधनमा ड्युटी गरिरहेका छौँ । नगर प्रहरीको आवश्यकताअनुसार गाडी खरिद गरिएको हो । अबको केही दिनमा गाडी प्रयोगमा आउँछ ।’ थापाले महँगी र स्वदेशी उत्पादनको प्रवद्र्धनलाई मध्यनजर गरेर विद्युतीय सवारी प्रयोगमा ल्याउन लागिएको बताए ।
स्वदेशी उत्पादनमै लगानी गरौँ भन्ने उद्देश्यले विद्युतीय सवारी प्रयोगमा ल्याउन लागेको उनको भनाइ छ । नगरवासीहरुको सुरक्षाका लागि विद्युतीय सवारी साधनमार्फत चुस्तदुरुस्त गस्ती हुने उनले बताए । आफ्नै सवारी साधन नहुँदा कोहलपुर नगर प्रहरीले टिप्परमा ड्युटी गरिरहेको छ । नगर प्रहरीले विभिन्न सामग्री ओसारपसार गर्दा नगरपालिकाको टिप्परको प्रयोग गर्दै आएको छ । यस्तै कोहलपुर नगर प्रहरीले हरेक दिन पाँचवटा साइकलमा गस्ती गरिरहेको छ भने नगर प्रहरीको काम कै लागि दुईवटा मोटरसाइकलसमेत प्रयोगमा छन् । कोहलपुर नगरपालिकामा २४ नगर प्रहरी पाँचजना सरसफाइकर्मीको दरबन्दी छ ।

प्रकाशित मिति : २०७९ फागुन १८ गते बिहीबार