कोहलपुर, कोहलपुर–नेपालगन्ज सडक खण्डअन्तर्गत कोहलपुर १० र ११ मा पर्ने सडकमा रेलिङसहित वृक्षारोपण सुरु गरिएको छ । कोहलपुर–११ को साझाचोकदेखि वडा नम्बर १० मा पर्ने हाइस्कुलसम्म सडकको बीच क्षेत्रमा रेलिङसहित वृक्षारोपण सुरु गरिएको हो ।
कोहलपुर नगरपालिका र राष्ट्रपति चुरे संरक्षण कोषको सहकार्यमा काम सुरु भएको कोहलपुर नगरपालिकाले जनाएको छ । साझाचोकदेखि हाइस्कुलसम्म रेलिङ तथा वृक्षापरोपण उपभोक्ता समितिका अध्यक्ष रामु लम्सालका अनुसार साढे आठ सय मिटर क्षेत्रमा रेलिङहित वृक्षारोपण गरिनेछ । उक्त काम वडा नम्बर ११ को ग्रीन बेल्ट क्षेत्रमा हुनेछ । वडा नम्बर १० को हाइस्कुल लाइनमा निर्माण गरिने उनले बताए । अध्यक्ष लम्सालले कोष र नगरपालिकाको संयुक्त लगानीमा प्रारम्भिक चरणको काम सुरु भएको बताए ।
उक्त क्षेत्रमा तार जाली लगाउन कोषले आर्थिक सहयोग गरेको छ भने माटो पटान तथा खाल्डा निर्माण र वृक्षारोपणका लागि कोहलपुर नगरपालिकाले लगानी गर्ने उनको भनाइ छ । त्यसको लागि हाल नगरपालिकाले चार लाख रुपैयाँ सहयोग गरेको छ । पछि वृक्षारोपणका लागि आवश्यक बिरुवा खरिदका लागि लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै व्यहोर्नेछ । रेलिङसहित तार जाली लगाउनका लागि कोषको आर्थिक सहयोग रहेको उनले बताए । अहिले प्रारम्भिक चरणको कामअन्तर्गत ग्राभिल माटो हटाइसकिएको छ । यस्तै केही दिनमा यहाँ वृक्षारोपणका लागि मलिलो माटो तथा मल हाल्न सुरु गरिने लम्सालले बताए ।
उक्त क्षेत्रमा संरचना निर्माणका लागि वडा नम्बर १० र ११ का नागरिक सम्मिलित उपभोक्ता समिति निर्माण गरिएको हो । उक्त समितिमार्फत संरचना निर्माण हुनेछ । पहिलो चरणको कामका लागि उपभोक्ता समिति र नगरपालिकाबीच चैत मसान्तभित्र काम सम्पन्न गर्नका लागि सम्झौता भएको छ भने बाँकी संरचना निर्माणका लागि कोष र उपभोक्ता समितिबीच सम्झौताको चरणमा छ । ‘साझाचोकदेखि हाइस्कुल क्षेत्रसम्म रेलिङसहित वृक्षारोण हुँदैछ । यो हरित कोहलपुर निर्माण गर्ने अभियान हो ।
सोहीअनुसार काम हुन लागेको छ । यो काम समयमै सम्पन्न हुनेछ,’ अध्यक्ष लम्सालले भने । वडा नम्बर ११ की वडाध्यक्ष कल्पना शर्माले उपभोक्ता समितिमार्फत काम सुरु भएको बताइन् । उनका अनुसार रेलिङसहित वृक्षारोपण कार्यक्रममा वडा कार्यालयहरुले समेत सहयोग गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्