ठगिँदै पहाड जाने यात्रु : समिटको हवाई भाडामा मनपरि



वीरेन्द्र जैसी
नेपालगन्ज, १७ फागुन
बाजुराका एक स्वास्थ्यकर्मीले करिब एक हप्तादेखि नेपालगन्जबाट बाजुराको हवाई टिकट लिन खोजिरहेका थिए । ट्राभल एजेन्टहरुले बाजुराको टिकट छैन भन्दै उनलाई फिर्ता पठाइरहेका थिए । अन्ततः उनले समिट एयरको एउटा टिकट पाउने भए । तर, उक्त टिकटको लागि उनले आठ हजार तिर्नुपर्ने भयो । बुधबार हातमा ६ हजार सात सय ५० रुपैयाँको टिकट लिएर बाजुरा उड्न तयार रहेका ती स्वास्थ्यकर्मी टिकट प्याक भएको बाहना बनाएर आफूहरुलाई मूल्यभन्दा बढी तिर्न बाध्य बनाइएको दुखेसो पोख्दै थिए । उनले भने, ‘तिर्दिन भनौँ भने टिकट दिँदैनन् । अर्काेले काटिहाल्छ । घर जाने अर्काे कुुनै उपाय पनि छैन ।’


उनीकै छेउमा उभिएकी थिइन् बाजुराकी सुशीला नाथ योगी । सुशीलासँग त टिकटसमेत थिएन । तर, उनको हातमा समिट एयरको बोर्डिङ पास भने आइसकेको थियो । उनले टिकटको रकम तिरेको कुनै प्रमाण उनीसँग थिएन । बडिमालीका कार्गाे सेवाका एजेन्टसँग उनले शुल्क तिरेको प्रमाण माग्दा अब दिन लागेको बताए । तर दिएनन् । सुशीलाले आफू र एक आफन्तले दुईवटा टिकटको २० हजार तिरेको बताइन् । उनीसँग टिकटको वास्तविक मूल्यभन्दा तीन हजार दुई सय ५० रुपैयाँ बढी लिइएको रहेछ । आफूहरुले टिकट पाउने भएपछि १० हजार पनि तिर्न बाध्य भएको सुशीलाले बताइन् । ‘हामीलाई त टिकट पनि दिएनन् । यही आउनु भइहाल्छ भने,’ बोर्डिङ पास देखाउँदै उनले भनिन् ।

उनीहरुले एकजना यात्रुबाट कम्तिमा एक हजारदेखि साढे तीन हजार रुपैयाँसम्म बढी शुल्क लिइरहेको पाइएको छ । यसरी बढी शुल्क जुम्ला, रारा र बाजुरा जाने यात्रुहरुबाट असुल्ने गरिएको विमानस्थल स्रोत बताउँछ । यात्रुहरु पनि बाध्य भएर बढी शुल्क तिर्ने गरेको पाइएको छ ।

यसबारेमा एयरलाइन्स र विमानस्थल प्रशासन अनभिज्ञ रहेको बताउँछन् । तर, विमानस्थल स्रोतका अनुसार एयरलाइन्सका प्रतिनिधि, एजेन्ट र विमानस्थल प्रशासनको मिलोमतोमै यात्रुहरुबाट बढी असुली भइरहेको छ । समिट एयरका प्रतिनिधि दीपकबहादुर शाहले आफूहरुले वास्तविक मूल्यकै टिकट दिने गरेको बताउँदै एजेन्टलाई कसले कति ति¥यो भन्ने जानकारी नहुने बताए । उनले गुनासो आएमा सम्बन्धित एजेन्टलाई सचेत भने गराउन सकिने भए पनि आफूहरुलाई कसैले गुनासो नगरेको दाबी गरे ।
यस्तै दाबी नेपालगन्ज विमानस्थलका सुरेशप्रसाद खनालले पनि गरे । आफूकहाँ कसैले बढी शुल्क लिएको जानकारी नगराएको उनको भनाइ छ । त्यसरी बढी शुल्क लिएको प्रमाणसहित आएमा कानुनअनुसार कारबाही गरिने उनले बताइ । तर, एजेन्टहरुले असुलेको रकम बराबरको कुनै प्रमाण दिँदैनन् । यात्रुहरुलाई टिकटको अभाव रहेको बाहना बनाएर बढी शुल्क तिर्न बाध्य बनाइरहेका छन् ।

अबदेखि यस्तो नहोस् : मन्त्री किराँती
यसैबीच, बुधबार नेपालगन्ज विमानस्थलको निरीक्षणका लागि पुगेका संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसमक्ष मिसन टुडेले पहाडी जिल्लाका सर्वसाधारण नागरिकहरुले टिकट पाउनै मुस्किल हुने गरेको र ठगिइरहेको विषय अवगत गराएको थियो ।

पत्रकार सम्मेलनमा राखिएको जिज्ञासामा मन्त्री किरातीले यस्तो किन भइरहेको हो ? भन्ने विषयमा सँगै रहेका नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारी र नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग जवाफ मागेका थिए ।
उनीहरुले अहिले उडान संख्या नै कम भएको कारणले टिकट पाउन मुस्किल भइरहेको जवाफ दिए । जवाफ सुनिसकेपछि मन्त्री किरातीले आफू मन्त्री भएको एक सय दिनसम्म पर्खेर सुधार हुन्छ कि हुँदैन कुर्ने र त्यसपछि कुनै पनि कमजोरी स्वीकार नगर्ने बताए । उनले भने, ‘अबदेखि यस्तो नहोस् ।’

प्रकाशित मिति : २०७९ फागुन १८ गते बिहीबार