मिसन टुडेको गाडीमा तोडफोड र चालकमाथि कुटपिट, पत्रिका लुट्ने प्रयास असफल



अज्ञात समूहको कुटपिटबाट घाइते चालक गणेश खत्री अस्पतालमा

बाँके ।

नेपालगन्जबाट मिसन टुडे राष्ट्रिय दैनिकको प्लेट (पत्रिका छाप्नको लागि तयार पारिएको सामाग्री) लिएर आउँदै गरेको गाडीमाथि कोहलपुरमा तोडफोड र चालकमाथि आक्रमण भएको छ । फागुन १८ गते बिहीबारको अंकको प्लेट लिएर आउँदै गरेको भे १ च ३८१२ नम्बरको गाडीमा तोडफोड र चालकमाथि कुटपिट भएको हो ।

बुधबार राती साढे नौं बजेको समयमा नेपालगन्जबाट आउँदै गर्दा कोहलपुरको न्यूरोडमा रहेको गोलपाक नजिकै आक्रमण र कुटपिट भएको थियो । अज्ञात समूहको आक्रमणबाट चालक गणेश खत्री घाइते भएका छन् । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको मिसन टुडे राष्ट्रिय दैनिकका प्रकाशक विनोद पौडेलले जानकारी दिए ।

‘पत्रिकाको बिहीबारको अंक छपाईको लागि नेपालगन्जबाट प्लेट लिएर आउँदै गर्दा कोहलपुरको न्यूरोडमा गाडीमा तोडफोड र चालकमाथि आक्रमण भएको छ’ उनले भने, ‘पत्रिकाको प्लेट लुट्ने प्रयास गरेपनि उनीहरु सफल भएनन् । चालकमाथि कुटपिट भएको छ भने गाडीमा तोडफोड भयो ।’

गाडीका चालक खत्रीले भे १२ प ५७५० नम्बरको मोटरसाइकलसहित अन्य मोटरसाइकल र स्कुटरमा आएको समूहले कुटपिट र तोडफोड गरेको बताए । ‘छापाखानातर्फ मोडिदैं गर्दा जबरजस्ती गाडी रोकेर कुटपिट गर्दै गाडीमा समेत तोडफोड गरे’ उनले भने, ‘लाइसेन्स र चाँबी केहीबेर नियन्त्रणमा लिएर पछि दिएर उनीहरु भागे ।’

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले आक्रमणकारीको खोजी तीव्र पारिएको जानकारी दिए । ‘घटनाको जानकारी पाउने वित्तिकै प्रहरी परिचालन भइसकेको छ’ उनले भने, ‘घटनामा संग्लनहरु पक्राउ पर्छन् । मोटरसाइकलको नम्बरको आधारमा खोजीलाई तीव्र बनाएका छौं ।’

प्रकाशित मिति : २०७९ फागुन १७ गते बुधबार