कोहलपुर : कोहलपुर नगरपालिकामा ‘जनतासँग नगरप्रमुख’ कार्यक्रम सुरु भएको छ । चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत ‘जनतासँग नगरप्रमुख’ कार्यक्रम सुरु भएको हो । नगरप्रमुखसँग जनताहरुले प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कार्यक्रम तर्जुमा गरिएको थियो । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत नगरप्रमुख पूर्णप्रसाद आचार्यमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको दश महिना बितिसकेको छ ।

कार्यकाल सम्हालेको एक वर्ष पुग्नै लाग्दा कार्यक्रम सुरु गरिएको हो । अन्तरक्रियात्मक ढाँचामा सञ्चालन गरिने कार्यक्रम मंगलबारदेखि वडा नम्बर ७ बाट सुरु भएको छ । वडा नम्बर ७ मा रहेका राजनीतिक दल,नागरिक समाज,स्थानीय महिला तथा पुरुषहरुको सहभागितामा नगरप्रमुखसँग अन्र्तरक्रिया सम्पन्न गरिएको छ ।
अन्तरक्रियामा स्थानीयहरुले स्वास्थ्य, शिक्षा, विद्युत, खानेपानी र विकास निर्माणका विषयमा जिज्ञासा राखेका थिए । उनीहरुले दुर्गम वडाको रुपमा रहेको वडा नम्बर ७ लाई विकासको मूलप्रवाहमा ल्याउन वडा र नगरपालिकाको भूमिका महत्वपूर्ण रहेकोले विकासमा प्राथमिकता दिन आग्रह गरेका हुन् । उक्त अवसरमा बोल्दै स्थानीय बिर्माकुमारी चौधरी रोक्काले वडामा स्वास्थ्य चौकीको भवन नहुँदा समस्या भएको बताएकी थिइन् ।
महिला स्वास्थ्य स्वयम्सेविकासमेत रहेकी रोकाले स्वास्थ्य संरचना नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको बताएकी थिइन् । यस्तै अर्का स्थानीय चित्रबहादुर बोहोराका अनुसार वडा नम्बर ७ का धेरै बस्तीमा अहिलेपनि यातायातको सहज पहुँच छैन । त्यसको लागि टोलस्तरमा बाटो पीच कुरामा ध्यान दिन नगरप्रमुखलाई उनले आग्रह गरेका थिए । वडा नम्बर ७ का मेलमिलापकर्ता खड्कजंग शाहले वडामा कानुनी शिक्षा र सहज न्यायिक सेवा आवश्यक रहेको बताए ।
अहिलेपनि स्थानीय स्तरमा झै झगडा हुँदा विवाद हुँदा मेलमिलाप गर्न समस्या हुने गरेकोले सचेतना आवश्यक रहेको उनको भनाइ थियो । अन्तरक्रियामा उपस्थित विद्यार्थी तथा अभिभावकहरुले गुणस्तरीय भौतिक संरचना र अन्य भौतिक व्यवस्था नहुँदा अध्ययन र अध्ययपनमा समस्या भएको भन्दै नगरप्रमुख समक्ष गुनासो गरेको मिसन टुडे दैनिकलाई वडा नम्बर ७ का सस्दय लोकबहादुर खड्काले बताए । उक्त अवसरमा १५ जना स्थानीयले नगरप्रमुखलाई आफ्ना समस्या राखेका थिए । स्थानीयले सोधेका प्रश्नहरुको वडाअध्यक्ष र नगरप्रमुखले संयुक्त रुपमा जवाफ दिएको उनले बताए ।
स्थानीयहरुका प्रश्नको जवाफ दिदैँ कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यल वडाबासीले उठाएका सवालले आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । उनका अनुसार स्थानीयले उठाएका सामाजिक मुद्धाका विषयमा नगरपालिका गम्भीर छ । उक्त अवसरमा उनले वडाले समाधान गर्न सक्ने काम वडा र नगरपालिकाबाट हुने काम गर्न आफू प्रतिबद्ध रहेको बताएका हुन् । वडा नम्बर ७ का वडाअध्यक्ष ठग्गा थारुले कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । उनका अनुसार अहिलेसम्म वडाले जनताको आवश्यकतालाई मध्यनजर गर्दै सेवा प्रवाह गरिरहेको छ । चालू आर्थिक वर्षको कार्यक्रम अनुसार जनतासँग नगरप्रमुख कार्यक्रम सम्पूर्ण वडामा सञ्चालन गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्