कोहलपुर : शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध बचतकर्ताहरुले ठाडो उजुरी दिएका छन् । कोहलपुर–११ मा शाखा कार्यालय रहेको सहकारीविरुद्ध बचतकर्ताहरुले मंगलार इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा ठाडो उजुरी दिएका हुन् । वर्षौदेखि सहकारीमा बचत गर्दै आएका बचतकर्ताहरुले सहकारीले आफूहरुलाई ठगेको र बचत फिर्ता नदिएको भन्दै न्युरोडस्थित शाखामा आइतबार सयौँ बचतकर्ताहरुले आन्दोलन नै गरेका थिए । शिवशिखर पीडित बचतकर्ताहरुले संघर्ष समिति नै बनाएर बचत फिर्ताको माग गरिरहेका छन् ।
बचतकर्ता दिपक ढुंगानाका अनुसार सहकारीपीडित बचतकर्ताहरुको सहभागितामा बचत फिर्ताको लागि गर्दै इप्रकामा उजुरी दिइएको हो । पछिल्लो समय सहकारीविरुद्ध देशभर नै बचतकर्ताहरुले आन्दोलन गरिरहेको भन्दै आफ्नो बचत असुरक्षित रहेको महशुस गरि सुरक्षाको लागि उजुरी दिइएको हो ।
‘प्रत्येक व्यक्तिको लाखौँ बचत जोखिम छ । सहकारीले हाम्रो कुरा सुन्दैन । हाम्रो मागपनि पूरा गरेको छैन । त्यसैले हामीले सुरक्षा निकाय गुहार्न बाध्य भएका हौँ,’ उनले भने । यता, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डियसपी सुन्दर तिवारीका अनुसार बचतकर्ता अनुसारले इलाका मै आएर गुनासो गरेका छन् ।
उनले उनीहरुले सहकारीविरुद्ध उजुरीसमेत दिएको बताए ।
तर उनले बैंक तथा वित्तीय संस्थाका घटनाहरु आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताए । यस्तो मुद्धा अदालतले हेर्ने उनको भनाइ छ । कानुन अनुसार आफूहरुले दर्ता गर्न नमिल्ने भएकोले गोलघरमा उजुरी सुरक्षित रहेको उनले बताए । देशभर शिवशिखरका ३६ वटा शाखा कार्यालय रहेका छन् । ती मध्ये कोहलपुर शाखा पनि एक हो । कोहलपुरमा मात्रै सहकारीका १२ हजार बढी बचतकर्ता छन् ।
प्रतिक्रिया दिनुहोस्