मानव बेचबिखनविरुद्ध युवायुवतीलाई सचेतना



कोहलपुर : कोहलपुरमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध युवाहरुका लागि एक दिवसीय तालिम सम्पन्न भएको छ । माइती नेपाल, नेपालगन्जको आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर १४ मा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा सहभागी युवायुवतीहरुलाई बाँके जिल्लासमेत गम्भीर समस्याका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसारविरुद्ध युवा पुस्ता सचेत हुनुपर्ने बताइएको थियो ।


माइती नेपाल नेपालगन्ज,बाँकेका क्षेत्रीय संयोजक केशव कोइराला र समाज सेवा संस्था नेपाल कोहलपुर, बाँकेका अध्यक्ष विनोद थापाले सहजीकरण गरेका थिए । तालिमार्फत सहभागीहरुलाई मानव बेचबिखन तथा ओसारपसारका कारण, समस्या रोकथामका उपाय र युवाहरुको भूमिकाको विषयमा सचेतना प्रदान गरिएको हो । मानव बेचबिखन तथा ओसारपसार नेपालको प्रमुख समस्याका रुपमा रहेको छ । भारतसँग सीमा जोडिएको बाँके जिल्लासमेत यसको जोखिममा रहेको छ । माइती नेपालले लामो समयदेखि मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गर्दै आइरहेको कोइरालाले बताए ।
जनचेतनाको अभाव, लैङ्गिक विभेद, घरेलु हिंसा, नेपाल र भारतको खुल्ला सीमाना, असुरक्षित बसाइँ सराइँ, अशिक्षा, गरिबी, बेरोजगारी, देखासिकी, सही सूचनाको अभाव, बाह्य संसारबारे कम जानकारी, द्धन्द्ध एवं दैवी प्रकोप र प्राकृतिक विपत्ति मानव बेचबिखन तथा ओसारपसारका कारण हुन् । यस्ता समस्याविरुद्ध युवापुस्ता सचेत हुनुपर्ने उनको भनाइ थियो ।
‘यो एक गम्भीर समस्या हो । यसका विरुद्ध हामी सबै एकजुट हुनुपर्छ ।विशेष गरेर युवा पुस्तामा यसका विरुद्ध शसक्त रुपमा लाग्नुपर्छ । जिल्लाका ग्रामीण क्षेत्रका नागरिकलाई सचेतना प्रदान गर्न आवश्यक छ ,’ उनले भने । उक्त अवसरमा बोल्दै बोल्दै समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाले अमानवीय कार्यविरुद्ध एकजुट हुनपर्ने बताएका थिए । यस्तै कोहलपुर नगर प्रहरीका प्रमुख वीरबहादुर थापाले प्रहरीले समेत सचेतनामुलक कार्यक्रम गरिरहेको बताए । सचेतनामुलक कार्यक्रममा सहभागीहरुले आगामी दिनमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ फागुन १७ गते बुधबार