कोहलपुर, ४१औँ राष्ट्रिय मगर एकता दिवस मनाइएको छ । नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुरको आयोजनामा दिवस भव्यरुपमा मनाइएको हो ।
‘सबै मगरहरु एकजुट हौँ’ भावनासहित औपचारिक समारोहबीच दिवस भव्यरुपमा मनाइएको थियो । नेपााल मगर संघ जिल्ला समन्वय समिति बाँकेको समन्वयमा कोहलपुरमा ‘इतिहास भाषा, संस्कृति संरक्षण सम्वद्र्धन मगरहरुको मूल मन्त्र, जातीय पहिचान र स्वायत्त शासनसहित संघीय लोकतान्त्रिक गणतन्त्र’ मूल नारासहित दिवस मनाइएको हो । औपचारिक कार्यक्रम सुरु हुनुअघि कोहलपुरमा रहेका मगर समुदायहरु सांस्कृतिक पहिरनसहित नगर परिक्रममा गरेका थिए ।
उनीहरुले कोहलपुरस्थित तेह्र बिगाहाबाट चौराहा, न्यूरोड साँझाचोक, हाइस्कुल हुँदै पुनः तेह्र बिगाहमा परिक्रम गरेर प्रभातफेरि गरे । त्यसपछि भने औपचारिक समारोह सुरु भएको थियो । कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा दिवसको औपचारिक समारोह सम्पन्न भएको हो । उक्त अवसरमा बोल्दै नगरप्रमुख आचार्यले मगर समुदाय सांस्कृतिक समुदाय भएको बताए ।
सामाजिक एकता हाम्रो पहिचानका रुपमा रहेको उनले बताए । मगर समुदाय र स्थानीय सरकारबीच लामो समयदेखि सहकार्य र समन्वय रहँदै आएको भन्दै आगामी दिनमा सहकार्य हुने अपेक्षासमेत गरे । उक्त अवसरमा बोल्दै कोहलपुर–२ का वडाध्यक्ष हरी कठायतले समाजिक एकता अहिलेको आवश्यकता रहेको बताए । वडा नम्बर २ मा समेत मगर समुदायको बसोबास रहेकोले विकास निर्माणलगायतका काममा सहकार्य गरिने बताए । कार्यक्रममा ४१औँ राष्ट्रिय मगर एकता दिवस समारोह नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुर बाँकेका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा सम्पन्न भएको हो । दिवसको अवसरमा विभिन्न सांस्कृति प्रस्तुतीसमेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्