कोहलपुर, सहकारी संस्था लिमिटेड कोहलपुर–११ साझा चोकको अध्यक्षमा पारसनाथ थारु निर्विरोध निर्वाचित भएका छन् । सहकारीको सञ्चालक समिति र लेखा समितिका लागि जारी निर्वाचन कार्यतालिकामा अध्यक्षमा एकल उम्मेदवारी परेपछि थारु निर्विरोध निर्वाचित भएका हुन् ।
कार्यतालिका अनुसार फागुन १३ गते उम्मेदवारी दर्ता र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यपालिका थियो । प्रमुख निर्वाचन अधिकृत पदम पाण्डेका अनुसार अध्यक्ष पदमा थारुको मात्रै एकल उम्मेदवारी परेका कारण निर्विरोध चयन गरिएको हो । उनले सञ्चालक समिति र लेखा समितिमा भने आवश्यक संख्याभन्दा धेरै उम्मेदवारी परेका कारण उक्त पदका लागि निर्वाचन हुने बताए । उम्मेदवारहरुको अन्तिम नामावलीअनुसार एकजना उपाध्यक्ष पदका लागि चारजनाको उम्मेदवारी परेको छ ।
उनले उपाध्यक्ष पदका लागि जयसिंह क्षेत्री, बन्धुराम थारु, बलीराम चौधरी र राज मोहन चौधरीले उम्मेदवारी दिएका छन् । एकजना जिल्ला प्रतिनिधिको पदका लागि गंगाबहादुर डाँगी र दिलदार वेडुवाको उम्मेदवारी परेको छ । चारजना सञ्चालक सदस्य पदका लागि सबैभन्दा धेरै १३ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत पाण्डेले बताए ।
सहकारीको विधानअनुसार एक संयोजकसहित तीनजनाको लेखा समिति रहने व्यवस्था छ । लेखा समितिको संयोजक पदका लागि कालीबहादुर वली, खुमबहादुर खत्री र दिपककुमार राईको उम्मेदवारी परेको छ । लेखा समितिकै दुईजना सदस्य पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
सदस्य पदमा उम्मेदवारी दिनेहरुमा सुरुशरण सोनखर खटिक, घनश्याम थारु, डिलाकुमारी तिवारी, तिरथराम तिवारी, पूर्णभद्र दहाल र रामसेवक थारुले उम्मेदवारी दिएका छन् । पाण्डेले निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको बताए ।
उनका अनुसार अध्यक्षबाहेक सबै पदमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेका कारण यसअघि सार्वजनिक गरिएको कार्यतालिकाअनुसार नै निर्वाचन सम्पन्न हुनेछ । सहकारी संस्था लिमिटेड कोहलपुर–११ साझा चोकको उपाध्यक्षसहित सञ्चालक सदस्य र लेखा समितिको संयोजक र सदस्य पदका लागि चैत ४ गते निर्वाचन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्