शिव शिखरले बचत फिर्ता गरेन : शिव शिखरविरुद्ध बचतकर्ता आन्दोलित



शुभाकर विश्वकर्मा,कोहलपुर
कोहलपुर–११ स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध बचतकर्ता आन्दोलित भएका छन् । बचतकर्ताहरुको बचत गरेको पैसा फिर्तासमेत नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
सोमबार दिउँसो सयौँको संख्या सहकारीमा बचत गर्दै आएका बैजनाथ, राप्तीसोनारी र कोहलपुर क्षेत्रका बचतकर्ता आन्दोलनमा उत्रिएका थिए । उक्त सहकारीको कार्यालयमै उनीहरुले आन्दोलन गरेका थिए । खान नखाइ गरेको बचत सुनिश्चित हुनुपर्ने र पछिल्लो समय सहकारीका विषयमा विभिन्न कुरा आइरहेकोले बचत फिर्ता गर्नुपर्ने बचतकर्ताहरुले माग गरेका छन् । सहकारीका बचतकर्ता कोहलपुर–२ विकासनगरका लोकेन्द्रबहादुर खड्काले सहकारीमा ६ वर्षदेखि कारोबार गर्दै आएको बताए । ‘यो सहकारीबाट कारोबार गर्दै आएको थिएँ,’ उनले भने, ‘दैनिक एक हजार रुपैयाँ बचतसमेत गर्दै आएको छुँ ।’


‘मलाई एक वर्षमा चार लाख हुन्छ भनेर आस देखाइएको थियो । म एक दिन पनि नछुटाएर बचत गर्थेँ । कात्तिकदेखि बदमासी सुरु भएको हो । २० दिन अघि पनि सामान खरिद गरेको थिएँ,’ उनले भने, ‘उहाँहरुले सामान हालिदिनु भएन । त्यसपछि सम्पर्कमा आउनु भएन । अब हामीलाई हाम्रो बचत फिर्ता चाहियो ।’ सहकारीबाट उनले दुई लाख ४० हजार रुपैयाँ पाउनुपर्नेछ । यहाँबाट उनले कृषिजन्य औजारसमेत खरिद गरेका थिए ।
यस्तै कोहलपुर–६ का दिलप्रसाद घर्तीमगरले आठ लाख रुपैयाँ डिपोजिट राखेको बताए । सहकारीले पाँच वर्षमा कुल बचत रकमको डबल रुपैयाँ दिन्छौं भनेर राखेको उनले बताए । ‘अहिले चाहिँ मेरो पैसा असुरक्षित देखेँ । त्यसैले निकाल्न खोजेको हो । पैसा निकाल्न आउँदा दिन्छौँ भन्नुहुन्छ । तर दिनुहुन्न,’ उनले भने । यस्तै आफ्नी श्रीमतीको समेत चार लाख रुपैयाँ बचत रहेको घर्तीमगर बताउँछन् । निरन्तर कार्यालय धाएपछि केही रुपैयाँ दिएको र अरु बाँकी रहेको उनको भनाइ छ ।

२०७५ सालबाट शिव शिखर सहकारीमा बचत गर्दै आएका प्रेमबहादुर शाही पनि आफूले मासिक १८ हजार रुपैयाँ बचत गर्दै आएको बताउँछन् । अहिलेसम्म सहकारीमा आफ्नो १० लाख ८० हजार रुपैयाँ जम्मा रहेको उनले बताए । गत माघमा एकमुष्ट १५ लाख रुपैयाँ पाउनुपर्ने भए पनि अहिलेसम्म नपाएको शाहीले गुनासो गरे । ‘अहिले पैसा माग्दा पछि आउनु मात्रै भन्छन् । आफ्नो गाँस कटाएर बचत गरेको हो । म सहकारीबाट पीडित भएको छुँ,’ उनले भने । उनी एक महिनादेखि सहकारीमा धाइरहेका छन् ।

खड्का, घर्तीमगर र शाही त प्रतिनिधि पात्र मात्र हुन् । सोमबार उक्त कार्यालयमा सयौंको संख्यामा पुगेका थिए । उनीहरुले आफूहरुको बचतको सहकारीले ठगी गरेको आरोप लगाएका छन् । कुनै पनि हालतमा बचत फिर्ता हुनुपर्ने उनीहरुको माग छ । सहकारीमा बाल बचत, दैनिक बचत तथा व्यवसायसमेत गरिरहेका बचतकर्ता पुगेका थिए ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कोहलपुरकी शाखा प्रमुख सुनिता चौधरीले बचतकर्ताहरुले बचत फिर्ताको माग गरेपछि सञ्चालक समितिलाई बोलाउने बताइन् । बचतकर्ताको विषयमा सञ्चालक समितिका पदाधिकारीहरुलाई समस्या समाधानका लागि बोलाइएको उनको भनाइ छ । ‘हामीले सबै टिमलाई बोलाएका छौँ । उहाँहरु आउनुहुन्छ । बचतकर्ता र सञ्चालक टिमबीच भेट हुन्छ । उहाँहरुले आफैँ बसेर कुरा गर्न पाउनुहुन्छ,’ उनले भनिन् । पैसा फिर्ताका विषयमा भने उनले आफूले भन्न नसक्ने जवाफ दिइन् । सोमबार केही बचतकर्ताहरुले बचत फिर्ता लिएका थिए । संघर्ष समिति बनाएर सहकारीविरुद्ध कानुनी प्रक्रियामा जानेसमेत बचतकर्ताहरुले तयारी गरेका छन् ।

प्रकाशित मिति : २०७९ फागुन १५ गते सोमबार