बाँके, आफ्नै दाईको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बर्दिया गेरुवा गाउँपालिका–१ का ३१ वर्षीया सिताराम थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
थारुले आफ्नै दाईलाई चिर्पट दाउराले टाउकोमा प्रहार गरी फरार भएका थिए । पक्राउ परेका थारुले दाईको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । २०७५ मंसीर २७ गते राति ११ बजे गेरुवा गाउँपालिका–१ जनकनगरका ३५ वर्षीया रामबहादुर थारु कुलोको ढिकमा भेटिएका थिए ।
घाइते थारुको दायाँकान पछाडि र टाउकोमा चोट लागि शख्त घाइते अवस्थामा थिए । घाइते अवस्थामा भेटिएका थारुको उपचारका लागि काठमाडौं मेडिकल कलेज टिचिङ अस्पताल सिनामंगलबाट २०७६ वैशाख ६ गते घरमा ल्याएको दिनमा मृत्यु भयो ।
मृतकको छोरीले ईलाका प्रहरी कार्यालय पाताभारमा फुटकर ज्यान मार्नेसम्बन्धी २०७६ वैशाख २४ गते जाहेरी दरखास्त दिएकी थिइन् । जमिनको विषयमा झगडा र मृतकले भाइको जमिनमा सामुदायिक वनबाट काठ ल्याई लुकाइछिपाइ राख्दा वनका कर्मचारीले भाइसँग जरिवाना तिराएको विषयमा दुवै भाइबीच बोलचाल थिएन ।
शंकास्पद घटना भएकोले प्रहरीले सुक्ष्म अनुसन्धान गरेको थियो । फरार भाइलाई प्रहरीले गत माघ १६ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले भाइ सितारामसँग बयान लिने क्रममा दाइलाई २०७५ मंसीर २७ गते राति चिर्पट दाउराले हानेर घाइते बनाएको स्वीकार गरेका छन् । प्रहरीले थारुलाई बिहीबार कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको एसपी सुधिर राज शाहीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्