एमाले ‘मिसन ग्रासरुट’ अभियानमा



नेपालगन्ज । मिसन ग्रासरुट अभियानसहित संगठन सुदृढिकरण अभियानमा जुटेको छ । फागुन ५ गतेदेखि वैशाख ९ गतेसम्मको अवधि तोकेर जनताको घरदैलोसम्म पुग्ने लक्ष्यसहित अभियानमा जुटेको हो ।

एमालेका केन्द्रीय सदस्य सूर्य ढकालका अनुसार अभियानअन्तर्गत केद्र, प्रदेश, पालिका, वडा र टोलसम्मको संगठनलाई जीवन्त र क्रियाशील बनाउने भन्ने उद्देश्य राखिएको छ । फागुन १५ गतेभित्र पालिकास्तरीय बैठक बसी दुई महिनाभित्र गरिने कार्यक्रमको योजना तयार गर्ने समय तोकिएको छ । जसअनुसार अहिले बाँकेमा पालिकास्तरीय भेला बैठकहरु धमाधम भइरहेका छन् । अभियानअन्तर्गत खटाइएका केन्द्रीय सदस्यहरु अभियान अवधिमा जनताको घरमा बास बस्नुपर्ने जिम्मेवारी तोकिएको छ । हरेक केन्द्रीय सदस्य गाउँपालिका तहसम्म र जुन जिल्लाको हो त्यसभन्दा बाहिर अर्को जिल्लामा खटाइएको छ । बाँकेमा लक्ष्मण ज्ञवाली, भीम केसी, कोमल वली, खडकबहादुर खड्कालाई खटाइएको छ । बर्दियामा नरुलाल चौधरी, शान्ता चौधरी, शान्ति ढकाल र सूर्य ढकाललाई खटाइएको छ । एकजना केन्द्रीय कमिटी सदस्यले दुईवटा पालिका हेर्नुपर्ने जिम्मेवारी तोकिएको छ । ॅत्यहीअनुसार अहिले एमालेका सबै सदस्यहरु ग्रासरुट लेभलमा, जनताको घरघरमा पुगिरेका छन्,’ केन्द्रीय सदस्य ढकालले भने ।

अभियान अवधिमा नचलेका समितिहरुलाई चलायमान बनाउने, गठन नभएका कमिटीहरु गठन गर्ने, २३ वटै जनवर्गीय संगठनका वडा कमिटीहरु गठन गर्नेलगायतका कार्यक्रमहरु पार्टीले तय गरेको ढकालले जानकारी दिए । यसअघि ठेली तल्लोस्तरमै पठाएर नवीकरण गरिने गरेकोमा अब पार्टी कार्यालयमा उपस्थित भएर मात्रै गर्ने नीति लिइएको उनले बताए । यसका साथै नयाँ सदस्यता फाराम वितरण गर्ने, राजनीतिक र सांगनिकरुपले कार्यकर्ताहरुको स्तर बलियो बनाइने पनि उनले बताए ।

अभियानमा प्रत्येक सदस्य जोडिने र नेता कार्यकर्ताहरू परिचालन हुने उनले बताए । अभियानमा सदस्यता नवीकरणदेखि अग्रजहरूको सम्मानलगायतका कार्यक्रमहरू हुनेछन् । अध्यक्ष केपी शर्मा ओलीले फिल्ड कमाण्डरहरूलाई डायरी र कलमसँगै लिएर पार्टीका तलसम्मकै कार्यकर्ता तथा कमिटीका समस्याहरू टिपेर ल्याउन भनेका ढकालले जानकारी दिए । केन्द्रीय पदाधिकारी नेताहरुलाई अनुगमनको जिम्मा दिइएको छ । लुम्बिनी प्रदेशमा अनुगमनको जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादलले पाएका छन् ।

प्रकाशित मिति : २०७९ फागुन ११ गते बिहीबार