कोहलपुर,
कोहलपुर–२ बर्दहवास्थित लक्ष्मी माध्यमिक विद्यालयको आठ कोठे भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बीच विद्यालय भवन निर्माणको धार्मिक विधिअनुसार शिलान्यास गरिएको हो ।
उक्त भवनको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी र वडा नम्बर २ का वडाध्यक्ष हरि कठायतले संयुक्तरुपमा उद्घाटन गरेका थिए । भवन शिलान्यासपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नगरप्रमुख आचार्यले कोहलपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताए । चालू आर्थिक वर्षमा पनि नगर क्षेत्रको शिक्षा विकासका लागि सबैभन्दा धेरै बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
यस्तै कोहलपुर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको भौतिक संरचना निर्माण र शैक्षिक गुणस्तर कायम गर्ने लक्ष्यअनुसार काम भइरहेको बताए । ‘सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार हाम्रो प्रमुख दायित्वको रुपमा छ । सोहीअनुसार काम पनि भइरहेको छ ।
अनुगमनका लागि अन्य पक्षलाई ध्यान दिइएको छ, सामुदायिक विद्यालय सुधार हाम्रो लक्ष्य हो । सोहीअनुसार लक्ष्मी माविमा भवन शिलान्यास भएको छ,’ नगर प्रमुख आचार्यले भने । यस्तै वडाध्यक्ष कठायतले वडा नम्बर २ मा रहेका विद्यालय छानामुक्त बनाउने अभियानमा वडा सरकार लागेको बताए । यस्तै सामुदायिक विद्यालयको शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने अभियानमा आफू रहेको उनले बताए ।
विद्यालयको आठ कोठे भवन निर्माणका लागि कूल एक करोड २० लाख रुपैयाँ बजेट थियो । ठेक्का प्रक्रियामार्फत जाँदा कूल ८५ लाख रुपैयाँ लागत भवन निर्माण हुने भएको विद्यालयले जनाएको छ ।
भवन निर्माणका लागि सामाजिक विकास कार्यालय बाँकेले एक करोड र कोहलपुर नगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेका थिए । सामाजिक विकास कार्यालय र नगरपालिकाको संयुक्त लगानीमा निर्माण कार्य सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्