बाँके, १० फागुन
नेपालगन्जका मुस्लिम धर्मगुरु र अगुवाहरुले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई सफल बनाउने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य कार्यालय, नेपालगन्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबको समन्वय र सहकार्यमा बुधबार नेपालगन्जमा मुस्लिम धर्मगुरु र मौलानाहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरिएका हुन् ।
जिल्लामा धेरैपटक हात्तीपाइले नियन्त्रण अभियान सञ्चालन गरिए पनि नेपालगन्जकै मुस्लिम र मधेसी समुदायले हात्तीपाइलेको औषधि खान नमान्दा उक्त अभियान पूर्णरुपमा सफल हुन सकेको छैन । कार्यक्रममा स्वास्थ्य कार्यालयद्वारा हात्तीपाइले रोगको अवस्था र औषधिको महŒवबारे गराइएको जानकारीपश्चात विभिन्न मस्जिद, मदरसा र अन्य धार्मिकस्थलमा कार्यरत सहभागी मौलाना, हाफिज र कारीलगायतका धर्मगुरुहरुले औषधि सेवन अभियानलाई सफल बनाउने प्रतिबद्धता जनाएका थिए । उक्त कार्यक्रमका सहभागी मौलानाहरुले बिहीबारदेखि सुरु हुने हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई सफल पार्न सबैलाई औषधि खान आग्रह पनि गरेका थिए ।
सोही अवसरमा स्वास्थ्य कार्यालयका कर्मचारी र मौलानाहरुले हात्तीपाइले रोगविरुद्धको औषधि पनि सेवन गरे । सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेलले नेपालगन्जका मुस्लिम समुदायमा हात्तीपाइलेको औषधि खाँदा प्रतिकुल असर गर्छ भन्ने भ्रम फैलिएकोले उक्त भ्रम चिर्न आवश्यक रहेको बताइन् । उनले धार्मिक गुरुहरुको सहयोगले यसपटक अभियान पूर्णरुपमा सफल हुने विश्वास पनि उनले व्यक्त गरिन् ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, हात्तीपाइले रोग अभियानका फोकल पर्सन दुर्गा गौतम, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दीकीलगायतले अभियानबारे जानकारी गराएका थिए । उक्त अवसरमा विश्व स्वास्थ्य संगठनका डा. वन्दना पाण्डे, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दीकी, स्वास्थ्य कार्यालयका मानबहादुर नेपाली, केशव ज्ञवाली, तेज ओली, सुन्दर विसी र मानस्वी बासकोटालगायतको उपस्थिति थियो ।
कार्यक्रममा मदिना मस्जिदका प्रमुख मौलाना नसिरुद्दीन अन्सारी, गौसिया मस्जिदका प्रमुख मौलाना जमाल, जैसपुरका मौलाना समिउल्ला, हाफिज साकिर, कारी अब्दुल कैयुम, मेराज अहमद कादरी, अमिर रजा कादरीलगायत दुई दर्जन बढी धर्मगुरुहरुको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्