महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता सुरु



कोहलपुर,  कोहलपुरमा जारी लुम्बिनी प्रादेशिक महोत्सवमा माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगिता सुरु भएको छ । फागुन ५ गतेबाट सुरु भएको प्रादेशिक महोत्सवअन्तर्गत सोमबारदेखि विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिता सुरु भएको हो ।


सांस्कृतिक उपसमितिका संयोजक प्रदीप भट्टराईका अनुसार कोहलपुर क्षेत्रमा रहेका बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता सुरु भएको छ । स्थानीय स्तरमा रहेका प्रतिभाहरुको क्षमता प्रदर्शन गर्ने उद्देश्यले विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियागिता सञ्चाल गरिएको उनले बताए । उक्त प्रतियोगितामा कूल २० वटा विद्यालय सहभागी छन् । हरेक दिन चारवटा विद्यालयका दरले प्रस्तुति रहने उनले बताए । अहिलेसम्म आठवटा विद्यालयले आफ्नो प्रस्तुति दिइसकेका छन् । ‘हरेक दिन चार विद्यालयले प्रस्तुति दिन्छन् । तिनीहरु मध्येबाट उत्कृष्ट विद्यालयहरु छनोट हुन्छन् । समापनका दिन पुरस्कार वितरण गरिनेछ,’ संयोजक भट्टराईले भने ।

यस्तै प्रतियोगितामा हरेक दिन स्थानीय स्तरमा रहेका कलाकार तथा गायकहरुले प्रस्तुति दिइरहेका छन् । कर्णाली दोहोरी घर, संगीतकर्मी संघ बाँकेका कलाकारहरुको समेत विशेष प्रस्तुति रहेको छ । उनीहरुले हरेक दिन विभिन्न स्थानीय कलाकारहरुले दर्शकलाई प्रस्तुति दिइरहेको उनले बताए ।

यतिमात्रै होइन हरेक दिन राष्ट्रिय कलाकारहरुको समेत विशेष प्रस्तुति रहने गरेको छ । महोत्सवको पाँचौ दिनसम्म आइपुग्दा एक दर्जनभन्दा बढी राष्ट्रिय कलाकार, डान्सर र कमेडियनले प्रस्तुति दिइरहेका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ महोत्सव आयोजना गरिएको हो । महोत्सव फागुन १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०७९ फागुन १० गते बुधबार