प्रादेशिक प्रदर्शनी मेला सम्पन्न



बाँके,  महिलाहरुलाई उद्यम गर्न प्रेरित गर्दै लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी नेपालगन्जमा सम्पन्न भएको छ । फागुनको ५ गतेदेखि नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा चलेको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा महिला उद्यमीहरुले स्थानीय कच्चा पदार्थको प्रयोग गरी निर्माण गरेका सामग्री, उत्पादन र वस्तुहरु प्रदर्शनीमा राखिएको थियो ।
नेपालगन्जमा भएको प्रदर्शनीको सातौं संस्करणमा करिब १० लाखभन्दा बढीको कारोबार भएको आयोजक महिला उद्यमी संघ नेपाल बाँके वरिष्ठ उपाध्यक्ष एवम् प्रदर्शनी संयोजक सावित्री बस्नेतले बताइन् । प्रदर्शनीको अन्तिम दिन सानो पुँजीबाट आफ्नो व्यवसाय सुरु गरेर सफलता हासिल गरेका तीनजना सफल महिला उद्यमीलाई सम्मान गरिएको छ ।

नेपालमा अल्लोको प्रवद्र्धनमा महŒवपूर्ण योगदान गरेकी प्रेम निश अल्लो धागो तथा तयारी पोशाक उद्योग घोराही दाङकी सञ्चालक प्रेमकुमारी पुन, बुटिक व्यवसायमा सफलता हासिल गरेकी द बज फेशन वेयरकी सञ्चालक सीमिता राणा र स्थानीय स्तरमा जुत्ता उत्पादन गरेर सफलता प्राप्त गरेकी राप्ती सु–उद्योगकी सञ्चालक सुराजन मियाँलाई सम्मान गरिएको छ ।


मंगलबार भएको प्रदर्शनीको समापन समारोहका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले प्रदर्शनीले महिलाहरुलाई आत्मनिर्भर बन्नमा प्रेरित गरेको बताए । आगामी दिनमा प्रदर्शनीलाई थप प्रभावकारी बनाउन उपमहानगरपालिकाले सहयोग गर्ने भन्दै मेयर विष्टले समाजमा आर्थिक विकासको निम्ति महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुन जरुरी रहेको बताए । उनले भने, ‘संविधानले हरेक क्षेत्रमा महिलाहको हक र अधिकारलाई सुनिश्चत गरेको छ । तर हाम्रो समाजमा अझै पनि महिलालाई उद्यम, व्यवसायमा लाग्न सहज छैन । समाज र देशको विकास गर्ने हो भने महिला र पुरुषको हरेक क्षेत्रमा सहकार्य हुनपर्छ । महिलाबिना देशले कुनै राजनीति होस या आर्थिक रुपान्तर, त्यो सम्भव हुँदैन ।’

महिला उद्यमी संघ नेपाल लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले महिलाले आफनो सीप र क्षमतालाई सदुपयोग गर्दै एक अर्कामा सहकार्य गरेर उद्यमतर्फ लाग्नु पर्ने बताइन् । उनले भनिन्, ‘प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको छ । यसमा हामी खुसी छौं । अझै पनि हामीले सीप भएर पनि घरभित्र लुकेर बसेका महिलाहरुलाई उद्यम, व्यवसायसँग जोड्न सकेका छैनौं । उनीहरुलाई महिला उद्यम संघ नेपालले हरेक वर्ष क्षमता अभिवृद्धि र सीपलाई सदुपयोग गर्नमा योजनाबद्धमा रुपमा काम गर्नेछ ।’

महिला उद्यमीलाई बजारीकरणमा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान, सुर्खेतलगायतका जिल्लाबाट आएका उद्यमीले आफ्नो उत्पादन र वस्तुहरु प्रदर्शनीमा राखेका थिए । नेपालगन्ज उपमहानगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय बाँकेले प्रदर्शनी गर्नमा आर्थिक सहयोग गरेको थियो । प्रदर्शनीका दौरान आयोजकले विभिन्न राजनीतिक दलबाट स्थानीय, प्रदेश र संघीय सरकारमा निर्वाचित भएका महिला नेतृहरुलाई सम्मानसमेत गरेको थियो ।

प्रकाशित मिति : २०७९ फागुन १० गते बुधबार