कोहलपुर ः शान्तिपूर्ण समाजका लागि बर्दीवाला र बर्दीविनाका प्रहरीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । शान्तिपूर्ण समाज र अमनचयनका लागि सुरक्षा निकाय र समुदायबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका हुन् । समाजमा विद्यामान सामाजिक कुरिती र विकृति अन्त्यका लागि सबै सचेत हुनुपर्ने उनीहरुको भनाइ छ । सोमबार कोहलपुर नगरपालिका वडा नम्बर १ को आयोजनामा सम्पन्न स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्ले सरोकारवालाहरुले सुरक्षा निकाय र आम नागरिकबीच समाज रुपान्तरणका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
वडा नम्बर १ ले इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको थियो । उक्त अवसरमा बोेल्दै वडा नम्बर १ का वडाअध्यक्ष बद्रिप्रसाद जैसीले कोहलपुरका सरकारी तथा सुरक्षा निकायमा सरुवा भएर आउने प्रमुखहरुलाई स्वागत गर्ने वडा नम्बर १ को प्रचलन अनुसार स्वागत कार्यक्रमको आयोजना गरिएको बताए । उनले वडा नम्बर १ लाई शान्तिपूर्ण वडाका रुपमा विकास गर्ने आफ्नो योजना अनुसार सुरक्षा निकायसँग समन्वय गर्न तयार छ ।
उक्त अवसरमा बोल्दै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक तिवारीले कोहलपुरलाई सुरक्षित व्यवस्थित र सभ्य बनाउने उद्देश्य रहेको बताए । उनका अनुसार मानिसका आधारभूत आवश्यकतासहित शिक्षा, स्वास्थ्य र सुरक्षा अहिलेको अपरिहार्य आवश्यकता हो । आफू सुरक्षित कोहलपुरका लागि सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उनले बताएका थिए ।
यस्तै उनले सडक दुर्घटना, लागूऔषध दुव्र्यसन रोकथाम, महिला तथा बालबालिकाबीच हुने हिंसा, चोरी डकैती, सामाजिक सञ्जालमा हुने हिंसा र आत्महत्या लगायका विषयलाई प्राथमिकता दिएर अघि बढ्ने तिवारीको भनाइ थियो ।
यस्तै उक्त अवसरमा बोल्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले समाज रुपान्तरणका लागि प्रहरी, राजनीतिक दल र नागरिकबीच त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताएका थिए । विभिन्न हिंसा तथा घटनामा पीडितले न्याय र पीडकले सजाय पाउनुपर्ने अवस्थाको सिर्जना गर्र्न आवश्यक रहेको उनले बताए ।
‘ हाम्रो समाज भड्किदैछ । यहाँ जसले जे गरेपनि हुने स्थिति छ । यसलाई समयमै रोक्नुपर्छ । होइन भने भोली ठूलो समस्या निम्तिने जोखिम छ,’ उनले भने । यस्तै वडा नम्बर १ का निवर्तमान वडाअध्यक्ष गोपीलाल खनालले सुरक्षा अहिलेको प्रमुख आवश्यकता रहेको बताए । उनका अनुसार समाजमा आमूल परिवर्तनको खाँचो रहेको औँल्याउँदै सबैले आ आफ्नो तर्फबाट भूमिका खेल्नुपर्छ ।
यस्तै दुई नम्बर प्रहरी विटक संयोजक गोपाल प्रसाद शर्माले कोहलपुरमा रहेका समस्या समाधानका लागि पहल आवश्यक रहेको बताएका थिए । उक्त कार्यक्रमा स्वागत मन्तव्य वडा सदस्य गंग कामीले राखेका थिए । स्वागत तथा परिचयात्मक कार्यक्रममा वडा नम्बर १ र २ का समाजसेवी, राजनीतिक दलका प्रतिनिधि र बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्