शिखा एकेडेमीको प्रथम वार्षिकोत्सव



कोहलपुर :  नेपालगन्ज एजुकेसन फाउण्डेसनद्धारा सञ्चालित शिखा एकेडेमी कोहलपुर प्रा.लि.को प्रथम वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ । कोहलपुर ८ स्थित पिपिरीमा अवस्थित एकेडेमीको प्रथम वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको हो । वार्षिकोत्सवको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पिपलको बोटमा पानी हालेर उद्घाटन गरेका थिए ।
उक्त समारोहका प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख आचार्यले कोहलपुर क्षेत्रमा रहेका संस्थागत विद्यालयहरुमा भइरहेको रचनात्मक प्रतिष्पर्धाले कोहलपुरको शिक्षा विकासमा भूमिका खेलेको बताए । उनका अनुसार कोहलपुरमा हाल ५८ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । ती विद्यालयहरुका आ–आफ्नै विशिष्ट विषेशता रहेको उनले बताए । यस्तै नगर प्रमुख आचार्यले विद्यालयको संख्या बढ्नु भन्दापनि त्यसको गुणस्तरमा ध्यान दिनुपर्ने अवस्था रहेको पनि बताए ।


‘कोहलपुरमा संस्थागत विद्यालयमा केही समस्या छन् । ती समस्या समाधानको विकल्प छैन,’ उनले भने,‘संस्थागत विद्यालयहरुले चर्को शुल्क असुल्ने गरेको गुनासो छ । श्रम अनुसार पारिश्रमिक नपाएको पनि गुनासो सुनिने गरेको छ । यस्ता समस्या समाधानका लागि स्थानीय सरकार र संस्थागत विद्यालयहरु एकजुट हुन आवश्यक छ ।’ शिखा एकेडेमीले प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिएको भन्दै शैक्षिक गुणस्तर कायम गर्नको लागि स्थानीय सरकार तयार रहेको उनको भनाइ थियो ।

उक्त अवसरमा बोल्दै चालित शिखा एकेडेमी कोहलपुर प्रा.लि.का सिइओ राजकुमार  सुवेदीले शिखा एकेडेमी कोहलपुरलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने उद्देश्यले स्थापना गरिएको बताए । उनले भने,‘ हामीले अन्य भन्दा फरक अभ्यास गरिरहेका छौँ । शिक्षामा नयाँपन दिने हाम्रो प्रयास रहेको छ । यसको पहिलो पाइला चाल्दै छौँ ।’
उक्त अवसरमा शिखा एकेडेमी नै किन भन्ने प्रसंगमा निश्चित विद्यार्थीसहित कक्षाकोठा, विद्यार्थीको रुचि अनुसार अतिरिक्त क्रियाकलाप,सोही अनुसारको खेलमैदान र गुणस्तरीय शिक्षाका लागि रहेको बताएका थिए । एकेडेमीको भावी मिसन प्राविधिक शिक्षा र कलेज सञ्चालन रहेको सिइओ अधिकारीको भनाइ थियो । शिक्षा नै देश विकासको प्रमुख मेरुदण्ड हो ? उद्देश्यका साथ प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिइएको उनले बताएका थिए ।

उक्त अवसरमा बोल्दै शिखा एकेडेमी कोहलपुर प्रा.लि.का प्रिन्सिपल टंकबहादुर केसीले गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने मूल ध्येयका साथ शिखा सञ्चालनमा रहेको बताए ।‘बालबालिका मैत्री संरचना र पठनपाठन हाम्रो प्राथमिकता होे । बाल मनोविज्ञानमा आधारित भएर हामी पठनपाठन गर्दै आएका छौँ ।

स्कूल भित्र र स्कूल बाहिर एउटै शिक्षा प्रदान गर्नुपर्छ भन्ने हाम्रो लक्ष्य रहेको छ,’ प्रिन्सिपल केसीले भने । प्रथम वार्षिकोत्सव समारोहमा अभिभावक अंशु शर्मा, ब्रहमाकुमारी इन्दिरा, ऋषि शर्मा, यान प्यावसन बाँकेका अध्यक्ष श्याम कुँवर, प्याव्सन बाँकेका अध्यक्ष यम रावत, अभिधावक डा.शिशिर रेग्मी, सुरेश कुमार कनोडिया,कोहलपुर–८ का वडाअध्यक्ष लालबहादुर राना,वडा नम्बर १२ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाह र बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त अवसरमा उत्कृष्ट शिक्षकका रुपमा आशा सिंक र अमृता खरेल पुरस्कृत भए । यसैगरी वर्षभरी भएका विभिन्न गतिविधिमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाणपत्र र ट्रफीसहित पुरस्कृत थियो । विद्यार्थीले विभिन्न सांस्कृतिक प्र्रस्तुती पनि देखाएका थिए । शिखा एकेडेमी कोहलपुर प्रा.लि.का अध्यक्ष गोपाल अधिकारीको अध्यक्षतामा प्रथम वार्षिकोत्सव सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०७९ फागुन ८ गते सोमबार