नक्कली नोटसहित पक्राउ परेकाहरु सार्वजनिक



नेपालगन्ज, नेपालगन्जबाट नक्कली नोटसहित पक्राउ परेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार बेलुका नेपालगन्जको न्यूरोडबाट तीनजना व्यक्तिहरुलाई पाँच लाख ६९ हजार बराबरका नक्कली नेपाली हजार रुपैयाँका पाँच सय ६९ नोटसहित पक्राउ गरेको थियो ।
पक्राउ परेकामा कोहलपुर नगरपालिका वडा नम्बर–११ का ३२ वर्षीय मोहन कुमाई, अछाम तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षीय दीपक विसी र सल्यान वनगाँड कुपिण्डे नगरपालिका ५ का ३० वर्षीय मोहन राना रहेका छन् ।

नक्कली रुपैयाँ बोकेर हिडिरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट प्रहरीले एक हजारका पाँच सय ६९ ओटा नोट बरामद गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । घर्तीमगरले नक्कली नोट कहाँबाट कसरी ल्याइएको हो भन्नेबारे प्रहरीले विशेष टिम नै खटाएर अनुसन्धान गरिरहेको जनकारी दिएका छन् ।
यसअघि माघ महिनामा धम्बोझीस्थित पाहुना घर होटेलबाट नक्कली नोट छाप्ने मेसिनसहित नै प्रहरीले बरामद गरेको थियो । मेसिन छोडेर फरार भएका ती व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फागुन ५ गते शुक्रबार