कोहलपुर,
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) सुन्दर तिवारीले कोहलपुर क्षेत्रलाई अपराधरहित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लाको आधार क्षेत्र ओगट्ने कार्य क्षेत्र रहेको कार्यालयबाट जनताले प्रत्यक्ष अनुभूति हुनेगरी कार्यसम्पादन गर्ने उनले बताए ।

कोहलपुर प्रहरी प्रमुखको रुपमा केही दिन पहिले सरुवा भएर आएका तिवारीले आफ्ना चार प्राथमिकतासमेत सुनाए । प्रेस सेन्टर नेपाल कोहलपुर शाखाद्वारा आयोजित परिचयात्मक कार्यक्रममा उनले आफ्ना मुख्यमुख्य चार प्राथमिकता प्रस्तुत गरेका थिए । उनका अनुसार आफूले कोहलपुर प्रहरीको जिम्मेवारी सम्हालेपछि तत्काल समाधान गर्नुपर्ने देखेका विषयमा योजनाअनुसार अघि बढ्नेछ । आफूले सबैभन्दा ठूलो समस्याका रुपमा सवारी दुर्घटना देखेको र त्यस्ता समस्या समाधानका लागि पहल गर्ने बताए ।
दुर्घटनाबाट अकालमा ज्यान गुमाउनुपर्ने समस्या समाधानका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने, सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको उनले सुनाए । यस्तै लागुऔषध ओसारपोसार रोक्ने र त्यसको माग समाधानमा आफ्नो विशेष ध्यान रहेको डिएसपी तिवारीको भनाइ छ ।
यस्तै प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोग रोक्न पनि पहल गरिने विषय प्राथमिकतामा रहेको उनले बताए । प्रविधिको दुरुपयोग गरी हुने हिंसा र अपराधिक क्रियाकलाप रोक्न आवश्यक रहेकोमा उनले जोड दिए । यसैगरी चोरी सिकारी र तस्करी र महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्नका लागि आफ्नो अधिकतम् पहल रहने तिवारीले बताएका छन् ।
विभिन्न समस्याका कारण समाजमा आत्महत्या गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको भन्दै न्यूनीकरणको उपायको खोजी गरेर समस्या समाधानको लागि पहल गरिने बताएका हुन् । ‘म आफ्नो जिम्मेवारीमा भएको काम राम्रोसँग गर्नेछुँ । अपराधरहित कोहलपुर बनाउने मेरो प्रयास रहनेछ,’ उनले भने, ‘कोहलपुरमा अब मेरो परीक्षा सुरु भयो । म परीक्षामा सामेल भइसकेको छुँ । आशा छ, यो परीक्षामा अवश्य पास हुनेछुँ ।’
उक्त अवसरमा प्रमुख तिवारीले मिडिया क्षेत्रबाट सकारात्मक काममा साथ र खबरदारीको पनि अपेक्षा गरेको बताए । प्रहरी र मिडियाबीच सम्बन्ध सुमधुर बनाए सेवा र सूचना प्रवाहको माध्यमलाई प्रभावकारी बनाउने उनको भनाइ छ । परिचयात्मक कार्यक्रममा सहभागी पत्रकारहरुले सूचना प्रवाह भोगिरहेको समस्या, यहाँका प्रमुख समस्या समाधानका लागि सुरक्षा निकायले प्रमुखता दिएर सम्पादन गर्न आग्रह गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्