बाँसगढीमा महाशिवरात्री विशेष पुजा सुरु



मधूर पौडेल,बाँसगढी  बर्दियाको बाँसगढी नगरपालिकामा अवस्थित ऊँ केदारेश्वर धाममा संगीतमय प्रवचन सहितको श्रीमद् भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्री विशेष पुजा आराधना सुरु भएको छ । धामका प्रमुख संरक्षक बह्मनिष्ठ सन्तशिरोमणी लोकानन्द स्वामी महाराजको उपस्थितिमा आराधाना सुरु भएको हो । महायज्ञको लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरीले एक औपचारिक समारोहका बीच उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै मन्त्री चौधरीले केदारेश्वर धामलाई धार्मिक पर्यटकीय धरोहरको विकास गर्न आवश्यक रहेको बताए । गुरुयोजनासहित विकसित गर्ने, प्राकृतिक रुपमा निर्माण भएका ताल तलैयाहरुको संरक्षण हुनुपर्ने उनको भनाइ थियो । यस्तै त्यहाँ रहेका दुर्लभ पशुपंक्षी एवम सीमसार क्षेत्रको रुपमा विकास गरी दर्शनीय एवंम् पर्यटकीय क्षेत्र बनाउने, धार्मिक महत्व राख्ने बोट विरुवा तथा जडिबुटी रोप्ने, समाजमा धार्मिक, साँस्कृतिक एवम नैतिक जागरण ल्याउने उद्देश्यका साथ महायज्ञ सञ्चालन गरिएको महायज्ञ मुल समितिले जनाएको छ ।

फागुन २ गते देखि ८ गते सम्म सञ्चालन हुनेछ । महायज्ञमा विहान योग, नित्य पुजा र आरती, दिउसो संगीतमय प्रवचन, पाठ, झाँकी र साँझ सन्ध्याकालिन आरती तथा संगीतमय भजनकृतनका कार्यक्रमहरु दैनिक रुपमा गरिने छन् । त्यस्तै महायज्ञमा तुलादान, ब्रतबन्ध, चौरासीपुजा, लाखवती प्रज्वलन तथा प्रसाद वितरण, ७५ बर्ष माथिक वृद्धवृद्धाहरुलाई विशेष अभिनन्दन गरिने कार्यक्रमहरु समेत राखिएका छन् ।
उद्घाटन समारोहमा बर्दियाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि,निवर्तमान जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि,समाजसेबी लगायत बर्तालुभक्तजनहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०७९ फागुन ३ गते बुधबार