नेपालगन्जमा विज्ञान महोत्सव सुरु



नेपालगन्ज, सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले विज्ञान र प्रविधिमा लगानी नगरीकन देश अघि बढ्न नसक्ने बताएकी छन् । नेपालगन्जमा आयोजित हिमालयन विज्ञान महोत्सवको दोस्रो संस्करणको उद्घाटन गर्दै उनले अबको युगमा विज्ञान प्रविधिको विकासबिना सर्वांगीण विकास सम्भव नभएको बताएकी हुन् ।


उनले वज्ञान र प्रविधिको विकासका लागि लगानी बढाइने र सबैलाई यसको पहुँचमा ल्याइने उल्लेख गरिन् । उनले विज्ञान र प्रविधिसँग जोडिएका व्यक्तिहरुलाई प्रोत्साहन र सम्मान गर्ने पनि बताइन् । हिमालयन साइन्स फाउण्डेसनको आयोजनामा बुधबारसम्म चल्ने महोत्सवमा बाँकेका विद्यालयहरुमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको आयोजक आतंक बस्नेतले जानकारी दिए ।

महोत्सवमा उत्कृष्टलई पुरस्कृत र राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञान प्रदर्शनीहरुमा सहभागी गराइने लक्ष्य लिइएको उनले जानकारी दिए ।
महोत्सवमा विद्यार्थीहरुले बनाएका विभिन्न नमुना प्रोजेक्टहरुको प्रदर्शनीका साथै विज्ञानसम्बन्धी अन्तक्र्रिया र मनोरन्जनात्मक कार्यक्रमहरु पनि गरिएको छ । महोत्सवमा ५० बढी स्टलहरु रहेका छन् भने सहभागीमध्ये उत्कृष्ट प्रोजेक्टको घोषणा गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २०७९ फागुन ३ गते बुधबार