सञ्चार मन्त्री शर्मा भन्छिन् : सरकारी सञ्चार माध्यममा सुधार आवश्यक



कोहलपुर,  : सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यम सुधार आवश्यक रहेको बताएकी छन् । राज्यले लगानी गरेका रेडियो, टेलिभिजन र पत्रिकालाई समय र आवश्यकताअनुसार परिस्कृत गर्नुपर्ने उनले बताइन् । मंगलबार नेपाल टेलिभिजन (एनटिभी) कोहलपुर र गोरखापत्र संस्थान पश्चिम क्षेत्र कार्यालय अनुगमन तथा निरीक्षणका क्रममा आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले देश संघीयतामा गएको भन्दै सञ्चार माध्यमहरुलाई समेत संघीय संरचनामा लैजानुपर्ने बताइन् ।


राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार माध्यमलाई राज्यका भुइँ तहका मानिसका आवाज बोल्ने माध्यम बनाउनुपर्ने उनको भनाइ छ । ‘यो क्षेत्रमा थुप्रै्र समस्या र चुनौती छन् । अब हामी नयाँ शिराबाट अघि बढ्छौँ । मन्त्रालयले कुनै पनि निर्णय गर्दा संस्थागत हुने कुरालाई प्राथमिकता दिन्छ,’ मन्त्री शर्माले भनिन् । एनटिभी कोहलपुरद्वारा आयोजित कार्यक्रममा उनले पत्रकारहरुको पारिश्रमिकमा विभेद भएको भन्दै न्यूनतम् पारिश्रमिक अनिवार्य कार्यान्वयन गरिने बताइन् ।

उक्त अवसरमा बोल्दै एनटिभीका कार्यकारी अध्यक्ष समीरजंग शाहले देशभरि भएका समस्या र समाधानका लागि नीतिगत व्यवस्थाको पहल भइरहेको बताए । उनका अनुसार स्थायी कर्मचारी नियुक्तिको प्रक्रिया मुद्दाका कारण रोकिएको थियो । अदालतबाट निर्णय भइसकेकाले पूर्णपाठ आउनबित्तिकै देशभरि नयाँ र योग्य जनशक्ति नियुक्तिको प्रक्रिया अघि बढ्ने उनले बताए ।
यस्तै गोरखापत्र संस्थान, पश्चिम क्षेत्र प्रकाशन कार्यालय कोहलपुरले सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्मालाई स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

नेपालको पत्रकारिताको गौरवमय इतिहास बोकेको गोरखापत्रलाई देशकै भरपर्दो सञ्चार माध्यमका रुपमा विकास गरिने उनको भनाइ छ । ‘सूचनामार्फत सूचुचित हुने जनताको अधिकारलाई छिटो छरितो प्रवाह गर्न गोरखापत्रलाई पृथकरुपमा अघि बढाउनुको विकल्प छैन,’ उनले भनिन्, ‘व्यावसायिक पत्रकारिताको सभ्यास गरौँ, न्यूनतम पारिश्रमिक लागू हुनेछ । विश्वसनीय सूचनाको माध्यम हामी नै हुनुपर्छ ।’
उक्त अवसरमा गोरखापत्र संस्थान, पश्चिम क्षेत्र प्रकाशन कार्यालय कोहलपुरका प्रमुख लालबहादुर शाहले पश्चिम क्षेत्र कार्यालय तीन प्रदेशमा सेवा दिइरहेको बताए । उनका अनुसार गोरखापत्र अहिले देशका ग्रामीण क्षेत्रसम्म पुगिरहेको छ । अझै यसको दायरता बढाउनुपर्ने चुनौती रहेको उनको भनाइ छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्मा दिनभरि बाँकेका विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् ।

प्रकाशित मिति : २०७९ फागुन ३ गते बुधबार