कोहलपुर, : तपाईं मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदै हुनुहुन्छ ? यदी त्यसो हो भने ट्राफिक प्रहरीको फन्दामा पर्नुहोला । ट्राफिक प्रहरीको फन्दाबाट बच्न, सवारी साधन चलाउँदा मादक पदार्थ सेवन नगर्ने र लाइसेन्सलगायतका कागजात अनिवार्य राख्नुहोला । किनकी नेपालगन्ज–कोहलपुर सडकखण्डलगायत बाँकेमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । जिल्लाभरि ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चेकिङमा कडाइ गरेको हो ।
पछिल्लो समय ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्तरुपमा मापसेसहित नीतिगत व्यवस्थाबारे जानकारी, सवारीको अवस्था र सवार व्यक्तिको अवस्थाको जाँचलाई कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाहले जनाए । दुर्घटना हुन नदिन र ट्राफिक व्यवस्थापन र अन्य प्रयोजनका लागि नेपाल प्रहरीसँग समन्वय गरेर जिल्लाभरि चेकिङमा कडाइ गरिएको उनले बताए । हरेक दिन जिल्लाभरिका दुईवटा स्थानमा संयुक्त चेकिङ भइरहेको छ ।
दैनिक कोहलपुरका क्षेत्रका पूर्व–पश्चिम राजमार्ग, रत्न राजमार्ग क्षेत्र तथा नेपालगन्ज–कोहलपुर रोडका साथै राजमार्गका भित्री सडकलगायतका स्थानमा ट्राफिक चेकिङ भइरहेको छ । ‘ट्राफिक चेकिङमा कडाइ गरेका छौँ । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण हाम्रो उद्देश्य हो । यसलाई हामीले निरन्तरता दिने प्रयास गरेका छौँ,’ उनले भने ।
माघमा कुल तीन सय १५ जनालाई मापसे कारबाही गरिएको छ । तीमध्ये दुई सय २० मोटरसाइकल कारबाही गरिएको छ । जसबाट दुई लाख २० हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ७० वटा कार र जीपबाट ७० हजार, १० वटा ट्रक÷बस कारबाहीबाट १० हजार र १५ वटा टेम्पो÷ट्याक्टरबाट १५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । माघभरि सबै प्रकारका कारबाहीबाट २३ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । माघभरि तीन हजार सात सय सवारी कारबाही परेको छन् ।
पुसमा २१ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सबैभन्दा धेरै मोटरसाइकल कारबाहीमा परेका छन् । साउनमा एक हजार एक सय ३९, भदौमा एक हजार दुई सय ११, असोजमा आठ सय ५०, कात्तिकमा एक हजार ५४, मंसीरमा आठ सय ८८ र पुसमा एक हजार नौ सय ९४ वटा कारबाहीमा परेको कार्यालयले जनाएको छ । यस्तै साउनमा १६ लाख नौ हजार पाँच सय, भदौमा १७ लाख ८३ हजार पाँच सय, असोजमा १५ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कात्तिकमा १८ लाख र मंसीरमा १५ लाख रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख शाहले बताए । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्