गोरखा युनाइटेडको १०औं वार्षिक अभिभावक दिवस



कोहलपुर, : कोहलपुर नगरपालिका २ मा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कूलको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार एक औपचारिक समारोहका बीच स्कूलले स्थापनाको २२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १०औँ अभिभावक दिवस मनाएको हो । उक्त समारोहका कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गरेका थिए ।
नगर प्रमुख आचार्यले गोरखा स्कूल कोहलपुर क्षेत्रमै उत्कृष्ट शैक्षिक सस्ंथाको रुपमा रहेको बताए ।

उनका अनुसार स्कूलमा अध्ययनरत विद्यार्थीहरुले आफनो क्षमता अनुसार निर्माण गरेका विज्ञानकला, कृषि, औजार, हस्तकला, लगायत दर्जन बढी स्टलहरुको अवलोकन गर्दै उनले विद्यार्थीहरु कलाको प्रशंसा समेत गरेका थिए । विद्यार्थीहरुको कार्य उत्सुकतापूर्ण रहेको भन्दै यसले अन्य विद्यालय तथा विद्यार्थीहरुलाई प्रेरणा प्रदान गर्ने बताए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले पनि गोरखा विद्यालयका राम्रा अभ्यास अन्य विद्यालयका लागि सिकाइ भएको बताइन् ।

प्रयोगात्मक शिक्षालाई जोड दिने स्थानीय सरकारको नीति रहेको भन्दै सम्पूर्ण नविनतम् कुरा सिक्न आवश्यक रहेको उनले बताइन् । स्कूल सञ्चालक समितिका अध्यक्ष केशर बहादुर आलेले स्कूलले गुणस्तरीय तथा प्रयोगात्मक शिक्षालाई जोड दिएको बताएका थिए । स्कूलकी प्रिन्सिपल साधना थापाले विद्यार्थीहरुको सिकाइ, दक्षता तथा क्षमतालाई उजागर गरि समाज विकासमा लगाउने उद्देश्य अनुसार गोरखा अघि बढिरहेको बताएकी थिइन् । उनका अनुसार राष्ट्र विकासका निम्ति दक्ष जनशक्ति उत्पादन गर्न शिक्षण पद्धति एवम् सिद्धान्तमा आधारित क्रियाकलापहरु आफ्नो विद्यालयले गरिरहेको छ ।

उक्त अवसरमा विभिन्न प्रस्तुतिहरु प्रदर्शन गरिएको थियो । स्कूलमा अध्ययनरत विद्यार्थीहरुले सुगर जाच्ने विज्ञान प्रयोगशाला, कृषि प्रयोगशाला देखि बिद्युतीय मेट्रो रेलसमेत प्रर्दशनमा राखेका थिए । त्यहाँ उपस्थित सम्पूर्ण अतिथि तथा अभिभावकहरुले विद्यार्थीहरुद्धारा निर्मित रचनात्मक, सिर्जनात्मक तथा बहुआयामिक स्टलहरुको प्रत्यक्ष अवलोकन गरेका थिए ।

उक्त स्कूलले डु अर लर्निङ भन्ने मुल मन्त्रलाई प्राथामिकताका साथ प्रर्दशनीमा राखिएको सो समारोहमा विभिन्न कला संस्कृति झल्कने सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा अभिभावम, विद्यार्थी तथा शिक्षकहरु उपस्थित थिए ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतबार