नेपालगन्ज विमानस्थलमा कन्भेयर बेल्ट सञ्चालन



नेपालगन्ज, नेपालगन्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा आएको छ । शुक्रबारदेखि ‘ब्यागेज ह्याण्डलिङ सिस्टम’ अन्तर्गत उक्त अत्याधुनिक कन्भेयर बेल्ट सञ्चालनमा ल्याइएको हो । नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालका अनुसार यात्रुहरुको सहजताका लागि उक्त बेल्ट सञ्चालनमा ल्याइएको हो । उनले अब विभिन्न ठाउँबाट नेपालगन्ज झर्ने यात्रुको सामानलाई छिटो र छरितो तरिकाले हस्तान्तरण गराउन मिल्ने बताए । उक्त बेट दुई करोड बढीको लागतमा विमानस्थलको आगमन कक्षमा जडान गरिएको जनाइएको छ ।


कन्भेयर बेल्ट नुहँदा उक्त कक्षमा यात्रुको सामानलाई कर्मचारीले हातले वितरण गर्दा समय धेरै लाग्ने र झन्झटिलोसमेत रहेको अवस्था थियो । बेल्टले अब यात्रु र एयरलाइन्स दुवैलाई सामान लिन दिन सहज हुने प्रमुख खनालले बताए । नेपालगन्ज विमानस्थलको आगमन कक्षमा जडान गरिएको कन्भेयर बेल्टको लम्बाइ ४० दशमलव ६ मिटर र लगेज ह्याण्डलिङ क्षमता प्रतिघण्टा दुई हजार चार सय देखि तीन हजारसम्म रहेको उनले बताए । यस्तो सुविधा नेपालगन्ज विमानस्थलसहित विराटनगर र धनगढीमा पनि सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतबार