27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

कोइरालाको सातौं स्मृति दिवसमा रक्तदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २७, २०७९  

नेपालगञ्ज, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति स्वर्गीय सुशिल कोइरालाको सातौं स्मृति दिवसमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस बाँकेले आयोजनामा नेपालगञ्जस्थित पार्टी कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन भएको हो । उत्त, अवसरमा कूल ६५ जनाले रगतदान गरेका छन् ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवम् काँग्रेस बाँकेका पूर्वपार्टी सभापति गजेन्द्रबहादुर हमालले स्वर्गीय कोइरालाको सादगी जीवनशैली सबैको लागि प्रेरणादायी रहेको बताए । कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हमालको भनाइ थियो । उनले संविधान जारी गर्न कोइरालाले लिएको चट्टानी अडान नेपालीहरुले सदैब सम्झिरहने उल्लेख गरे । उनले कोइरालाको स्मृतिमा रक्तदान जस्तो पवित्र मानवीय कार्य गरिनु आफैंमा सतकर्म भएको उल्लेख गरे । उनले रगत दान गर्नु ठूलो धर्म र पूण्य कर्म भएको बताए ।


काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले स्वर्गीय कोइरालाले नेपाली राजनीतिमा पु¥याएको योगदान विशिष्ट रहेको चर्चा गर्दै उनी नेपाली राजनीतिको आदर्श व्यक्तित्व भएको बताए । गौडेलले कोइराला बाँकेबासीका लागि ‘गौरवपूर्ण व्यक्तित्व’ रहेको बताउँदै उनले देखाएको बाटोमा अग्रसर भए कांग्रेसले कहिल्यै हार्नु नपर्ने जिकिर गरे । उनले काँग्रेस बाँकेले पछिल्लो समय मानवीय तथा सामाजिक कार्यहरु गर्दै आएको उल्लेख गर्दै त्यसकै निरन्तरता स्वरुप कोइरालाको स्मृतिमा रक्तदान कार्यक्रम गरिएको बताए ।

रगत अभावमा विरामीहरुले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्य राखेर रक्तदान कार्यक्रमको आयोजना गरिएको गौडेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीसहितको प्राविधिक टोली रक्तदान कार्यक्रममा खटिएको थियो । रक्तदान गर्ने व्यक्तिहरुलाई पार्टीले कदरपत्र प्रदान गरेको थियो । यस्तै रक्तसञ्चार केन्द्रलाई पनि सभापति गौडेलले कदरपत्र प्रदान गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, माघ २७, २०७९     1:40:01 PM  |