29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

कोहलपुरमा जथाभावि फोहोर फाल्ने व्यवसायीलाई पाँच हजार जरिवाना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २७, २०७९  

कोहलपुर:  कोहलपुर नगर प्रहरीले खुल्ला स्थानमा फोहोर फाल्ने व्यक्तिलाई कारबाही गरेको छ । बिहीबार विहान कोहलपुर –११ स्थित रेडक्रस पछाडि सडक छेउमा फोहोर फाल्ने एक व्यवसायीलाई जरिवाना गरिएको हो ।
कोहलपुर नगरप्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार रेडक्रसस्थित सडक छेउमा फोहोर फाल्ने व्यक्ति र फोहोर फाल्न प्रयोग गरिएको स्कुटर नियन्त्रणमा लिएर कारबाही गरिएको हो । उक्त फोहोर फाल्ने व्यक्ति प्रकाश पोखरेल रहेको उनले बताए । उनी कोहलपुर –११ स्थित दशविगाहामा नमस्ते मिटअप पसल सञ्चालन गर्दै आएको खुलेको उनले बताए ।


पोखरेल बिहीबार विहान ८ः३० बजेको समयमा पसलको फोहोर भे.५.प. ४६८१ नम्बरको स्कुटीमा ल्याएर खुल्ला स्थानमा फाल्दै थिए । उनले फोहोर फाल्दै गर्दा ड्युटीमा रहेको कोहलपुर नगर प्रहरीले नियन्त्रण लिएको थापा बताउँछन् । व्यवसायी पोखरेललाई पाँच हजार रुपैयाँ जरिवाना तिराइएको थियो । आगामी दिनमा सार्वजनिक स्थानमा फोहोर नफाल्ने सर्तमा छोडिएको उनको भनाइ छ ।‘कोहलपुर नगरलाई सफा र सुन्दर बनाउन हामी क्रियाशील छौँ ।

सबैलाई सार्वजनिक स्थामा जथाभावि फोहोर नफाल्न आग्रह गर्दै आएका छौँ । कसैले फोहोर गरेमा हामीलाई जानकारी गराउनु होल,’ उनले भने । कोहलपुर नगरपालिकामा एक कम्पनीसँगको साझेदारीमा फोहोर व्यवस्थापन हुँदै आएको छ । कोहलपुरका विभिन्न क्षेत्रमा अझै पनि व्यवस्थित फोहोर व्यवस्थापन हुन सकेको छैन ।

 

प्रकाशित मितिः शुक्रबार, माघ २७, २०७९     1:15:55 PM  |