13 May 2024  |   सोमवार, बैशाख ३१, २०८१

बाँसगढीमा नगरपालिकामा १९ लाखमा एम्बुलेन्स खरिद्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २६, २०७९  

मधुर पौडेल, बाँसगढी
बर्दियाको बाँसगढी नगरपालिकाले एम्बुलेन्स खरिद गरिएको छ । नगरवासीलाई सेवा दिने उद्देश्यले नगरपालिकामा एम्बुलेन्स खरिद गरिएको हो ।
एम्बुलेन्स खरिदका लागि सिर्जनशील समाज नेपाल बाँसगढीले देउँसीभैलो आयोजना गरेको थियो । समाजले देउँसीभैलोबाट संकलित र विभिन्न माध्यमबाट सहयोग दाताबाट जम्मा भएको रकमले एम्बुलेन्स खरिद गरिएको नगरपालिकाले जनाएको छ ।

एम्बुलेन्स खरिदको लागि २०७८ असोज ४ गते सिर्जनशील समाज नेपाल बाँसगढीले १० लाख ५० हजार रुपैयाँ नगरपालिकालाई उपलब्ध गराएको समाजका कार्यबाहक अध्यक्ष लक्ष्मी विकले बताए । बाँकी रकम एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेर एम्बुलेन्स ल्याइएको नगरप्रमुख खड्कबहादुर खड्काले बताए । उनका अनुसार १९ लाख ८९ हजार चार सय ७० रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको हो ।

यसमा समाजले संकलन गरेको १० लाख ५० हजार र आठ लाखभन्दा बढी रुपैयाँ नगरपालिकाले सहयोग गरेको छ । एम्बुलेन्स ल्याउनका लागि कानुनी प्रक्रिया तथा बिल जोड्दा एक लाख १३ हजार रुपैयाँ मूल्य पर्न गएको छ ।
सबै प्रक्रिया पूरा गरेर एम्बुलेन्स मंगलबार नगरपालिकामा आइपुगेको हो । अब एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउने र आगामी फागुन १ देखि नगर अस्पतालमार्फत सञ्चालन गरिने नगरप्रमुख खड्का बताउँछन् । स्वास्थ्य शाखा प्रमुख घनश्याम केसीले अब नगरपालिकाका जनताले शुलभ स्वास्थ्य सेवा पाउने बताएका छन् ।

प्रकाशित मितिः बिहिबार, माघ २६, २०७९     9:37:02 AM  |