नगरबासीलाई लोकसेवा पढाउँदै कोहलपुर नगरपालिका



नेपालगन्ज (बाँके),
कोहलपुर नगरपालिकाले स्वीकृत कार्यक्रमअनुसार लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । फागनु १ गतेदेखि सहायक स्तर पाँचौ तहको कक्षा सञ्चालन गर्ने भएको हो ।
१० प्लस २ (१२) कक्षा उत्तीर्ण भएकालाई लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले बताइन् । लोकसेवा अध्ययन गरिरहेकाहरुलाई थप सजिलो गराउन र उत्साह प्रदान गर्न लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

‘कोहलपुरका युवायुवतीहरु लोकसेवा आयोग अध्ययन गरिराख्नु भएको छ,’ उनले भनिन्, ‘उहाँहरुको प्रयासलाई हामीहरुले पनि साथ सहयोग गर्नुपर्छ ।’ ‘लोकसेवा पास भए उहाँहरु सरकारी सेवामा प्रवेश गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘जसले उहाँहरुलाई व्यक्तिगत तथा पारिवारिक र नगरलाई समेत उपलब्धि हुन्छ ।’

नगरकै दक्ष जनशक्ति भए यहाँको विकास निर्माण, सुशासन र सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा नगरपालिकाले गरेको छ । नगरको उक्त कार्यको लोकसेवा तयारी गरिरहेकाहरु खुसी भएका छन् । यसमा दलित, महिला, स्थानीय र आर्थिकरुपमा विपन्नता भएकालाई प्राथमिकता दिइन् नगरपालिकाले जनाएको छ । कोहलपुरका सबै वडालाई यसमा सहभागी बनाइने उपप्रमुख सुवेदीले बताइन् । उनका अनुसार एउटा वडाबाट चारजनालाई सहभागी गराइने छ । सोहीअनुसार नगरले वडालाई पत्राचारसमेत गरेको छ ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहीबार