18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

उपमेयर कप छात्रा क्रिकेट आजदेखि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २६, २०७९  

कोहलपुर, २५ माघ
५औँ अन्तर माध्यमिक विद्यालयस्तरीय उपमेयर कप छात्रा क्रिकेट प्रतियोतिता बिहीबार (आज) देखि सुरु हुँदैछ । कोहलपुर नगरपालिकाको आयोजनामा उक्त क्रिकेट प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगिताको आज बिहान ११ः३० मा औपचारिकरुपमा उद्घाटन हुने कोहलपुर नगर खेलकुद विकास समितिले जनाएको छ । अध्यक्ष बुद्धिबहादुर थापामगरका अनुसार प्रतियोगितामा कोहलपुर क्षेत्रका डेढ दर्जन टिमको सहभागिता रहनेछ । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापामगरले सम्पूर्ण तयारी पूरा भएको बताए । समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतियोगिता भव्य तथा सभ्यरुपमा सम्पन्न गरिने बताए ।


कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले कोहलपुर नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनका अनुसार छात्राहरुको क्षमता प्रस्फुटन तथा प्रोत्साहनका लागि प्रतियोगिता सञ्चालन हुन लागेको हो । यस्तै नगरपालिकाले राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने तयारीसमेत गरेको उनले बताए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले प्रतियोगिताले कोहलपुरका विद्यालयस्तरीय छात्राहरुलाई जिल्ला तथा देशव्यापीरुपमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रोत्साहन गर्ने बताए ।

खेलकुलमा लैंगिक समानता कायम गर्नका लागि प्रतियोगिताको आयोजना हुन लागेको हो । कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन तथा व्यवस्थापनमा हुने प्रतियोगिताका खेल आइसीसीका नियमअनुसार खेलाइने छ । अध्यक्ष थापाले प्रतियोगिताको सबै खेलका ‘प्लेअर अफ द म्याद’ लाई नगद एक हजार रुपैयाँ प्रदान गरिने बताए । यस्तै प्रतियोगितामा ‘प्लेअर अफ द सिरिज’, ‘वेष्ट बलर’ र ‘वेष्ट ब्यानर’लाई समेत नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा ‘इमरर्जिग प्लेअर’लाई ट्रफी प्रदान गरिनेछ । यस्तै प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगर २१ हजार र द्वितीय हुने टिमले ११ हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रकाशित मितिः बिहिबार, माघ २६, २०७९     9:23:41 AM  |