23 March 2023  |   बिहिबार, चैत्र ९, २०७९

नेरामावि लक्ष्मणपुरलाई पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता–२०७९ को उपाधि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ २५, २०७९  

बाँसगढी, २४ माघ
पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता–२०७९ को उपाधि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुरले जितेको छ । बाँसगढी नगरपालिकाको आयोजना र राम जानकी मावि भैसासुरको संयोजनमा सञ्चालन भएको प्रतियोगिताको उपाधि वडा नम्बर ४ मा रहेको नेरामावि लक्ष्मणपुरले उपाधि जितेको हो ।


नगरस्तरीय खेल मैदान रिहारपुरमा सञ्चालन भएको प्रतियोगितामा उपाधि जितेको उक्त विद्यालय १७ स्वर्ण आठ रजत नौ कास्य पदकसहित पाँचौंपटक उपाधि जितेको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुरले यसअघि चारपटक उपाधि जितिसकेको छ । प्रतियोगितामा आठ स्वर्ण, नौ रजत र तीन कास्य पदकसहित बाँसगढी नगरपालिका वडा नम्बर १ स्थित लक्ष्मी माध्यमिक विद्यालय दोस्रो भएको छ । यस्तै सात स्वर्ण तीन रजत र ६ कास्य पदकसहित नेरामावि बाँसगढी तेस्रो भयो ।

प्रतियोगिताको समापन समारोहमा बोल्दै नगरपालिका नगरप्रमुख खड्कबहादुर खड्काले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले पालिकालाई जिल्ला हँुदै प्रदेश र देशभरि नै चिनाउने एक अवसरका रुपमा लिनुपर्ने बताए । उनले खेलाडीहरुलाई अनुशासनमा रहेर उत्कृष्ट खेल प्रदर्शन गर्न आग्रह गरे । साथै खड्काले विद्यालयले प्रतियोगिताको बेलामात्र विद्यार्थीलाई खेलकुद गतिविधिमा सहभागी गराउने गरेको भन्दै अन्य समयमा पनि खेलमा लगानी गर्न विद्यालयलाई निर्देशन दिए । उनले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा पनि पालिका विद्यालयलाई साथ सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता विद्यालय लक्ष्मणपुरका प्रध्यानाध्यापक अर्जुन तिवारीले विद्यार्थीको मेहनत र चौथो पटकसम्म लगातार विजेता बनेको कारण पनि यस वर्ष विजेता बन्न सहज भएको तिवारीले बताए । प्रतियोगितामा सहभागी खेलाडीहरुले भलिबल, कराँते, विभिन्न दौड, तेक्वान्दो, एथ्लेटिक्सलगायतका विधामा विद्यार्थीहरु सहभागी थिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरभित्रका ३२ वटा मावि र आधारभूत विद्यालयहरु सहभागिता थियो ।

प्रकाशित मितिः बुधबार, माघ २५, २०७९     1:32:14 PM  |