दाङ, २४ माघ
लुम्बिनी प्रदेशमा बुधबार (आज) राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । रुपन्देहीका राष्ट्रियसभा सदस्य एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि रिक्त भएको सिटका लागि आज उपनिर्वाचन हुन लागेको हो ।
बुधबार हुने निर्वाचनमा तीनजना बीच प्रतिस्पर्धा हुनेछ । सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दसौंदी चुनावी मैदानमा उत्रिएका छन् भने यसैगरि कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्य मैदानमा छन् । यसैगरि सत्तागठबन्धनको समर्थनमा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि उपनिर्वाचनका लागि उम्मेदवारी दिएको छ । यो पार्टीले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने यो निर्वाचनमा प्रदेशका ८७ प्रदेशसभा सदस्य र एक सय नौ स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुन्छ ।
यो प्रदेशमा सबैभन्दा बढी मतभार नेपाली कांग्रेसको छ । प्रदेशसभा सदस्य २७ रहेको कांग्रेसका यो प्रदेशमा ९२ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखको संख्या छ । यसरी कांग्रेसको मतभार दुई हजार नौ सय ५४ छ । यसैगरि नेकपा एमालेका २९ जना प्रदेश सांसद छन् भने ६७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख छन् । यसरी एमालेको यो प्रदेशको मतभार दुई हजार पाँच सय ९८ रहन्छ । यसैगरि माओवादी केन्द्रको कुल मतभार एक हजार एक सय चार छ भने राप्रपाको मतभार दुई सय ४६ छ ।
यसैगरि लोसे मतभार दुई सय १६ छ भने नागरिक उन्मुक्ति पार्टीको मतभार एक सय ९२ छ । यस्तै जनमत पार्टीको मतभार एक सय ४४ छ भने चार स्वतन्त्र सांसद रहेको प्रदेशमा स्वतन्त्र सांसदको मतभार एक सय ४४ छ । यस्तै राष्ट्रिय जनमोर्चाको एक सय २०, नेकपा एकीकृत समाजवादीको ४८ र जनता प्रगतीशील पार्टीको मतभार ३६ छ । गठबन्धनमा आबद्ध दलहरुको मतभार बढि देखिने भएकाले एमालेका दसौंदी जीत उन्मुख जस्तै देखिएका छन् । तथापी कांग्रेसले भने साना दलहरुलाई फकाईरहेको छ । साना दलहरुको सहयोगमा आफ्नो जित सुनिश्चित गर्ने दाउमा कांग्रेस देखिन्छ । ‘हामीहरु साना दलहरुको साथ र समर्थनका लागि प्रयास गरिरहेका छौँ,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने, ‘यसो भएमा कडा प्रतिस्पर्धा बन्ने छ ।’
बुधबार घोराहीमा हुने मतदानका लागि प्रदेशसभा सदस्यहरुका लागि एउटा र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुका लागि अर्को मतदान केन्द्र कायम गरिएका छन् । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्